हुकुमबहादुर सिंह
यही असार १२ गतेबाट नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनपछिको यो दोस्रो केन्द्रीय समितिको बैठक पार्टीप्रतिको कार्यकर्ता तथा जनताको आशावादमा देखिएको वृद्धिलाई क्रान्ति र परिवर्तनमा आवश्यक भौतिक शक्तिमा कसरी रूपान्तरण गर्ने र पार्टीबाहिरबाट आएका र आउन सक्ने अनगिन्ती चुनौतीहरूसित कसरी सामना गर्ने रणनीति विकासमा केन्द्रित रहने निश्चित छ । किनभने त्यस समयदेखि अहिलेसम्म आइपुग्दा पार्टीभित्रका आम नेतादेखि कार्यकर्ता स्तरसम्म तुलनात्मक रूपले पार्टीको सैद्धान्तिक, वैचारिक तथा राजनीतिक स्पष्टता र बुझाइमा एक रूपता देखिएको छ र पार्टीको सङ्गठनात्मक अवस्थामा पनि जनस्तरसम्म केही विकास र सुधार आएको छ । यद्यपि यो क्रान्ति र परिवर्तनका लागि आफैमा काफी छैन । तैपनि देशको राजनीतिक स्थितिको र त्यसमा देखिएका राजनीतिक दलहरूबारेको खास गरी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको एमालेमा भएको विलयबारे, पार्टीको विश्लेषण जनता अन्य राजनीतिक दल तथा बुद्धिजीवीहरूले सही ठह¥याएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) सैद्धान्तिक, वैचारिक तथा राजनीतिक हिसाबले र त्यसको उच्च नेतृत्वप्रतिको आशावाद जनतामा कायम देखिएको छ । तर जनताको चेतना स्तरलाई र अधिकांश बुद्धिजीवीहरूको सत्ता र सरकारप्रतिको मोहलाई ओली–दाहालले संसद्वादी दक्षिणपन्थी संशोधनवादमा उपयोग गर्न सफल देखिएका छन् ।
यसरी नेपाली कम्युनिस्ट आन्दोलनको आजको सबैभन्दा मुख्य समस्या हो ः संसद्वादमा फसेको दक्षिणपन्थी संशोधनवादको चौतर्फी बिगबिगी । संसद्वादमा फसेको दक्षिणपन्थी संशोधनवाद नेपालमा अहिले रूप र संख्यामा अत्यन्त शक्तिशाली देखिएको छ । यसका पछाडिको प्रमुख कारण (१) २०२८ सालको झापा सशस्त्र विद्रोहको उच्च नेतृत्व र २०५२ सालको माओवादी जनयुद्धप्रतिको एउटा ठूलो विचलन र विश्वासघातको नेतृत्व दाहाल र भट्टराईले गरेका छन् । (२) संसद्वादमा फसेका दक्षिणपन्थी संशोधनवादहरूले जनतामा बाँडेको ‘समृद्धि’ र ‘समाजवाद’को सपना । (३) क्रान्तिकारी कम्युनिस्टहरू खासगरी माओवादीहरू आपसमा विभाजित भइरहनु । (४) क्रान्तिका मित्र राजनीतिक शक्तिहरू– मोहनविक्रम सिंहको नेतृत्वको मसाल र विप्लव नेतृत्वको नेकपामा विद्यमान अस्वाभाविक र असान्दर्भिक अन्तरविरोध बढ्दै जानु । यहा“ अस्वाभाविक र असान्दर्भिक किन भनिएको हो भने यी पार्टीहरूले उनीहरू र अन्य दुई पार्टी– नेकपा (क्रान्तिकारी माओवादी) र कट्टेलको नेतृत्वको नेकपाबीचको कार्यगत एकतालाई आ–आफ्नो गुटगत स्वार्थमा उपयोग गर्न खोजे । यसका पछाडि सारमा रहेको अन्तरविरोध विप्लव नेतृत्वको नेकपामा मौलाउँदै गएको व्यक्तिवादी अहङ्कारवाद, आर्थिक अराजकतालाई क्रान्ति र परिवर्तनको जामा लगाउने विगतदेखिको गलत ट्रेन्ड र त्यसैमा रमाउन चाहने युवाहरूको निम्न पु“जीवादी प्रवृत्ति । मोहनविक्रम सिंहमा रहँदै आएको मनोगतवादी र सङ्कीर्णताको दलदलमा फसेर संयुक्त मोर्चा र कार्यगत एकतालाई हेर्ने रूपमा क्रान्तिकारी तर सारमा दक्षिणपन्थी सामन्ती प्रवृत्ति कायम छ ।
क्रान्तिकारी धारको निर्माणमा लागेका दलहरूलाई गद्दार, दलाल, अराजकतावादी आदि देख्ने उनको विगतदेखिको प्रवृत्ति । यो प्रवत्ति अहिले २०५२ सालदेखि नेकपा (एमाले)को पुच्छर समातेर संसद्मा सहभागिताको संसद्वादी प्रवृत्तिमा रूपान्तरित भएको छ । अहिले आएर त्यसले एमालेका केपी ओलीलाई राष्ट्रवादी प्रमाणित गर्न कसरत गरिरहेको छ । नेपाली कांग्रेसभित्रका संघीयता विरोधीहरूलाई राष्ट्रवादी देखिरहेको छ । एमाले र माकेको एकतालाई कम्युनिस्ट एकता भनिरहेको छ । लोकतान्त्रिक गणतन्त्रलाई महान् उपलब्धि बताइरहेको छ र नेपालको संविधान २०७२लाई एउटा जनवादी संविधानका रूपमा जस्तै गरी स्वागत गरिरहेको छ । केवल संघीयता उसका लागि अपाच्य बनेको छ । उसले अहिले प्राप्त उपलब्धिहरूको रक्षालाई जोडतोडका साथ महत्व दिइरहेको छ । प्रचण्ड–बाबुराम–ओली जो झापा र जनयुद्धको नेतृत्व गर्दा महत्वाकांक्षी, सत्तालिप्समा लागेका, निम्न पुँजीवादी, उग्रवादी थिए । तर अहिले संसद्वादमा फसेको दक्षिणपन्थी संशोधनवादी तिनीहरू उनका लागि मित्र बनेका छन् । अहिले फेरि उनका लागि नेकपा (क्रान्तिकारी), नेकपाहरू अराजक र उग्रवादी बनेका छन् । यसरी एमाले, माकेबाट बनेको नेकपा र मसालको लगनगाँठो बलियो बन्दै छ । तर मोहनविक्रमको मनोगतवादी र सङ्कीर्ण चरित्र र प्रवृत्तिका कारण उनको यो लगनगाँठो पनि उनको सरकारमा सहभागिताको चाहना कतिसम्म तिनीहरूले हल गरिदिने छन्, निर्भर रहनेछ । मोदीको भ्रमणको समयमा उनले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपाहरूसितको कार्यगत एकतालाई तोड्न जति हतार गरे, त्यसले उनी ओली–प्रचण्डलाई खुशी बनाउन कति चाहन्छन् भन्ने सन्देश दिन्छ । अहिले जे होस् नेकपा (क्रान्तिकारी माओवादीं)ले यी दुई प्रवृत्तिका विरुद्ध निर्ममतापूर्वक संघर्ष गर्दै उनीहरूमा संसद्वादको विरोध र क्रान्तिका लागि विद्यमान सकारात्मक पक्षहरूलाई उपयोग गर्ने प्रयास गर्नै पर्दछ । पछिल्लो समयमा आएर मोहनविक्रम सिंहको नेतृत्वको मसाल र विप्लव नेतृत्वको नेकपाबीचमा एक आपसमा भौतिक कारबाही गर्नेसम्मका धम्कीहरू एकआपसमा देखिन थालेका छन् । यो कार्यगत एकतालाई ध्वस्त बनाउने गम्भीर कार्य हो । यसले भावी क्रान्तिलाई नकारात्मक असर र ओली–दाहाललाई फाइदा पुग्नेछ ।
देशको यस्तो अवस्थामा अब पार्र्टीको काम जनताका बीचमा कसरी पार्टी, क्रान्तिलाई स्थापित गर्दै विकास गर्ने हो, त्यसमा रहनेछ । जसका लागि माओका तीन जादुगरी हतियार– पार्टी, मोर्चा र सेनाको निर्माण र विकास हो । नया“ तरिकाले नया“ सर्वहारावर्गीय क्रान्तिको रक्षा र विकास हो । यसैमा अहिलेको केन्द्रीय समितिको बहस आवश्यक र जरुरी दुवै भएको छ । २०७४ असोजमा सम्पन्न पार्टीको राष्ट्रिय सम्मेलनले यसबारे लिएका सैद्धान्तिक, वैचारिक र नीतिगत कुराको ठोस कार्यान्वयनको खाका कोर्न यसले नेतृत्वलाई दिशानिर्देश गर्नु पर्नेछ ।
यसो भएमा पार्टीप्रतिको कार्यकर्ता तथा जनताको आशावादमा देखिएको वृद्धिलाई क्रान्ति र परिवर्तनमा आवश्यक भौतिक शक्तिमा रूपान्तरण गर्न र पार्टीबाहिरबाट आएका र आउन सक्ने अनगिन्ती चुनौतीहरूसित प्रभावकारी रूपले सामना गर्न सकिनेछ । संसद्वादमा फसेका दक्षिणपन्थी संशोधनवादहरूले जनतामा बाँडेको ‘समृद्धि’ र ‘समाजवाद’को सपना केबल सपनामात्रै हो र यसको प्राप्ती सर्वहारावर्गको नेतृत्वमा सर्वहारावर्गको अधिनायकत्वमा मात्रै सम्भव छ भन्ने ठोस सन्देश दिन आवश्यक छ । यसका लागि पार्टी केन्द्रीय समिति एक ढिक्का भएर भावी क्रान्तिलाई प्रभावकारी रूपले नेतृत्व गर्न सफल रहनेछ । यसैमा पार्टी केन्द्रीय समिति बैठकको ऐतिहासिकता रहनेछ ।hukumsingh2012@yahoo.com
(- जनधारणा साप्ताहिक)
















