पश्चिम यात्राको सुखानुभूति

252

डा.दीपेन्द्र रोकाया
अघिल्ला दुई साता पश्चिम यात्रामा थिएँ । मैले कल्पनै गरेको थिइनँ कि एकै दिनमा काठमाडौंबाट बाजुरा पुग्न सकिएला । तर पुगियो । रोजन बज्राचार्यजी र म काठमाडौंबाट धनगढी हवाईजहाजबाट पुग्ने बित्तिकै बाजुराका लागि निजी गाडीमा उकालो लाग्दा समयमै पुगेका थियौं । यस यात्राले २० वर्षअघि बाजुरामा सडक आउँछ भन्दा आउन सक्छ र ? भनी अचम्म मान्नेहरूले यतिबेला मलाई अचम्मका कुरा सुनाइरहेका थिए । बाजुराको सदरमुकाम सिमेन्टको जंगलमा परिणत हुँदै गइरहेको देखियो ।

 

बाजुराको स्थानीय उत्पादन सोधियो । बजार हेरियो । पाका मेयरको कुरा सुनियो । यो कुरा अछामको मंगलसेन, कालिकोटको मान्म, सुर्खेतको वीरेन्द्रनगर, जाजरकोट र सल्यानको खलंगा बजारमा पनि गरियो । हामी गइरहेको गन्तव्यतिर एकाध मालगाडी गइरहेको तर उनीहरू रित्तै फर्केको देखियो । यस कुराले मनमा पोलिरहेको थियो । सुर्खेत, जाजरकोट र सल्यानका लागि हाम्रो टिम अझ ठूलो भयो । नीति फाउण्डेसनका कार्यकारी निर्देशक मोहनदास मानन्धर, प्राध्यापक पुष्कर बज्राचार्य, निरज नेपाली, रोजन बज्राचार्य हुनुहुन्थ्यो । बाजुरामा दिनेशराज जैसी, अछाममा पहल साउद, कालिकोटमा रमेश रावल, सुर्खेत–जाजरकोटमा दीपेन्द्र शर्मा र सल्यानमा प्रतीक इच्छुक शर्माले स्थानीय छलफल तथा भेटघाटका लागि साथ दिनुभएको थियो ।

 

विकास कसरी हुन्छ ? कोही भन्छन्, सडक हुनै पर्दछ । कोही यही सडकका कारण कंगाल भयौ । यसका कारण जोखिम बढ्यो । यो मृत्यु मार्ग नभएको भए यति संख्याका मान्छेहरू जिउँदै भएको देख्न पाउथ्यौं । सडककै कुरा गर्दा पनि यस्ता फरक फरक खालका धारणा प्राप्त हुने गर्दछ । यहाँ पहुँच स्थापित नगरी केही हुनेवाला छैन । जेजति विकृति ल्याए पनि पहुँच स्थापित गराउने काम सडकले गर्दछ । यसैले हामी काठमाडौंबाट एकै दिनमा बाजुरा पुग्न सम्भव भएको थियो । म यस्तै यात्रा मेरो सालनाल गाडेको जिल्ला हुम्लाको गर्न चाहन्छु । त्यो दिन खोजिरहेको छु ।

 

हिजोका दिनहरूमा जोकोहीले आफ्नो विकट क्षेत्रलाई कर्नालीको उपमा दिन्थे । आज हुम्लालाई उपमा दिने गरेको पाउँदछु । यो अनुभव मसँग ७५ जिल्ला पुग्दा गहिरो गरी हुने गरेकै छ । खाद्यान्न उत्पादन औसतमा घटिरहेको छ । यो भाते संस्कृतिका कारण हो । भाते संस्कृतिले कति रोग र भोग सिर्जना गराइरहेको छ ? भन्ने कुरा नबुझ्दाको परिणति हो । गत मंसिरमा मैले आफ्नै जन्म घरमा सोधपुछ गरेँ, हाम्रो घरको उत्पादनले कति महिना पुग्छ ? घरकाले भनेँ, छ महिना । पुनः सोधेँ, अन्न कहाँ कति छ ? घरकाले भने, ४ खाडल छ, फलानो भकारी खाट तथा यी साना ढरा (माटाको भकारी) मा यतिउति छ । हाम्रो घरपरिवारको संख्या, सरदर पाहुना आउने जानेसम्मको हिसाव गर्दा आफ्नै उत्पादनले पुग्ने देखेँ । यो त गरिबी देखाउने काम भएन र ? भनी टिप्पणी गरेँ । घरकी भान्से बुहारीले साँचो कुरा भनिन्, खासमा चामल भयो भने कामबाट आएर कुकरमा बसाल्दा एकै छिनमा पाक्ने र खान मिठो हुने भएकाले चामल ल्याउने गरेका छौं ।

 

मेरै घर परिवारको यो तथ्य र एक जना साथीले भन्नुभयो कि राज्यले अनुदानको चामल पठाउँछ, त्यो चामल जिल्लाको पूरै जनसंख्यालाई भाग लगाएर हेर्नुहोस्, २ दिनभन्दा बढी पुग्ने चामलै जान्न, त्यसलाई देखाएर राजनीति राज्यबाट भइरहेको छ । मैले बारम्बार भन्दै आएको छु, चामलको राजनीतिले परनिर्भर बनाइरहेको छ । यसबाट नीतिगत तहका मान्छेहरू, हवाईजहाजवाला र ठेकदारलाई पोस्ने आधार मात्र बनिरहेको छ । अवैज्ञानिक तौरतरिका अपनाउँदा हुम्लामा पठाएको चामलको हिसाब खोज्दा त्यो सडकमा लगाएको भए करिब ६०० कि.मि. सडक वा ५० मेगावाट विद्युत् निस्केको हुने देखाइसकेको छ ।

 

यसैले यस यात्रामा पश्चिमको तराईको मालको हाट सडक मार्ग भएर आफ्नै आँगनसम्म आइपुगेको छ । भोटको हाट आफ्नो आँगनमा ल्याउन सकिएको छैन । बुढापाकाहरूले दिएको र आफ्नै आँखाले देखेको कुरा के हो भने भारतको लखिमपुर, तराईको नेपालगञ्ज, राजापुर, धनगढी, कटासे, चिसापानी, साँफेबगर हाट कोल्टी पुगिसकेको छ । ताक्लाकोटको हाट हिल्सा, तुक्कोट हुँदै सिमकोटसम्म बल्लतल्ल आउँदै छ । यो पहुँच विस्तार गर्ने कार्य कर्नाली कोरिडोर बनेपछि मात्र जोडिनेवाला छ । कर्नाली प्रदेश र त्यस आसपासका प्रदेशको विकासको रफ्तार हाम्रो कर्नाली र भेरी सडक कोरिडोरको विकासले नयाँ अध्याय खोल्नेवाला छ ।

 

हिजो पैतला खियाउँदै उकाली, ओराली हिडेको बाटोमा आज सरर गाडीमा दौडँदा मलाई के लाग्यो भने विकास ढिलो चाँडो भइरहेकै छ । तर जनता र हामीले चाहेजस्तो नभएको मात्र हो । यसैले यो सडकमा हामी यात्रुहरू जसरी गन्तव्य तय गरिरहेका छौं, त्यसैगरी व्यापारीहरूले आफ्ना माल विकाउन लागिरहेका छन् । हामीकहाँ मालगाडी आइरहेका छन् । जे जति मालगाडीले प्रवेश पाएका छन्, ती फर्कदा रित्तै जान्छन् । मन खाने विषय यही हो । यसो हुन दिनु भनेको यहाँको रूपैयाँ अरुलाई पठाउनु हो, अन्तको रूपैयाँ आफूले भित्र्याउन नसक्नु हो ।

 

यसैले कर्नालीका नाङ्गा डाँडाहरू पनि आर्थिक उत्पादनका केन्द्र बनाउनेबारे सोच्न परेको छ । महँगा जडीबुटीहरू छन् । तिनको संरक्षण, खेती, प्रशोधनसम्मको सोच राख्न जरुरी छ । फलफूलको व्यावसायिक खेतीमा लाग्न जरुरी छ । औषधिजन्य अन्नको उत्पादनमा जोड दिन आवश्यक छ । यो महसुस गर्ने पक्ष हो । तर यसको बजार हेर्ने र त्यसको व्यवस्थापन नगर्दा भनेकै आधारमा उत्पादनमा लाग्दा घाटा पनि लाग्दो रहेछ । अहिले रुकुमका जनताले यलोभेरा लगाउनका लागि उक्साउनेहरूलाई गाली गरिरहेझै हुनेवाला छ । यहीक्रममा यात्राको अन्तमा कपुरकोट पुग्दा सन्तोषको महसुस भयो ।

 

यी आँखाले मुगुको सदरमुकाम गमगढीमा हप्तामा एक ट्रक तरकारी भारतबाट पुगेको देखेको थियो । तर यहाँ सल्यान र रुकुमको तरकारी, गोलभेडा भरिरहेका ट्रकहरूको लाइन देखियो । यो तरकारी तथा गोलभेडा नेपालगञ्ज, बुटवल सिधै जाँदो रहेछ । त्यहाँबाट फेरि उत्तर–दक्षिण, पूर्व–पश्चिम जाने नै भयो । त्यहाँ डोको बोकिरहेका महिला तथा एकाध पुरुष किसान दाजुभाइ तथा दिदीबहिनी भेटिए । आफ्नो उत्पादन बेचेर आफ्नो लागि आवश्यक सामान किनिरहँदा गरेको हिसावकितावको मनोविज्ञानलाई नजिकबाट अवलोकन गर्न पाइयो । कालिकोटमा कृषिका अधिकृतले भनेको कुरा सम्झिएँ, मान्मका घरहरू यही तरकारी बेचेर बनाउनेहरू धेरै छन् ।

वास्तवमा हामीले जनतालाई धेरै आश्वासन दिन आवश्यक छैन । किसानहरूका लागि विना धितोमा सस्तो ऋण दिन सकियो भने उत्पादनमा वृद्धि ल्याउन सकिन्छ । यहाँका युवा जनशक्तिलाई रोजगारीको आधार बनाउनका लागि प्राविधिक शीपको खाँचो छ । श्रमको इज्जत गर्न लगाउन सक्नु पर्दछ । सडक, ऊर्जा र एकीकृत सुरक्षित बस्ती विकास गराउन सकियो भने सुनमा सुगन्ध आउछजस्तो अनुभव गहिरो गरी हुन थालेको छ । विकसित चाहना र द्वन्द्वले पनि यस्तै देखाउँदै छ ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here