इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, ९८ को मृत्यु

397

इन्डोनेसिया /  इन्डोनेसियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ९८ पुगेको छ ।

सरकारी अधिकारीहरुले भूकम्पका कारण विचल्लीमा परेका झण्डै दुई हजार पर्यटकहरूलाई पनि उद्धारगरी फिर्ता गरिएको जनाएका छन् ।

भूकम्पका कारण हजारौँ घरहरु ध्वस्त भएका छन् भने चौतर्फी असर परेको र मानिसहरु त्रसित अवस्थामा रहेको समाचारमा जनाइएको छ ।

इन्डोनेसियाको लोकप्रिय पर्यटकीय प्रान्त लोम्बोकमा आइतवार बेलुका ६.९ म्याग्नीच्युडको भूकम्प गएको हो ।

अमेरिकी जियोलोजिकल सर्भेले भने ७।० म्याग्नीच्यूडको भूकम्प गएको बताएको थियो । भूकम्प जमिनको सतहबाट करिब १०।५ किलोमिटर मुनि रहेको थियो ।

इन्डोनेसियाका मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ ।

त्रसित मानिस रातारात अग्ला सुरक्षित स्थानहरुमा पुगेका थिए । बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा रहेका छन् ।

भूकम्प आएको आधा घण्टा विमानस्थलमा पनि विद्युत कटौती भएकोले अन्यौल छाएको थियो । भूकम्पबाट प्रभावितहरूलाई राहत तथा उद्धारका कामहरु पनि भइरहेको छ ।

यही क्षेत्रमा गत साता आएको ६।४ म्याग्नीच्यूडको भूकम्पले १६ जनाको मृत्यु हुनुका साथै घरहरु भत्किएका थिए ।

प्रशान्त क्षेत्रीय बेसिनमा अवस्थित इन्डोनेसिया ज्वालामुखी र फल्ट लाइनका कारण भूकम्पको उच्च जोखिममा रहेको छ।

२००४ डिसेम्बरमा इन्डोनेसियाको सुमात्रालाई केन्द्रविन्दु बनाएर गएको ९।१ म्याग्नीच्यूडको भूकम्पले शक्तिशाली सुनामी आएको थियो जसका कारण एक दर्जन तटीय मुलुकका दुई लाख ३० हजार भन्दाबढी मानिसको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here