काठमाडौं/ चिकित्सा सम्बन्धि विषयमा लाइसेन्स नपाएका चिकित्सकले उपचार गरेमा तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने भएको छ । भदौ १ गते देखि लागू हुने मुलुकी अपराध (संहिता)ऐनमा यस्तो व्यवस्था गरिएको हो।
लाइसेन्स प्राप्त नगरेको चिकित्सकले उपचार गरेको बिरामी अंगभंग भएमा १५ वर्ष कैद र ज्यान गएमा जन्मकैद हुने व्यवस्था छ ।
भनिएको छ, ‘इजाजत प्राप्त गरेको व्यक्तिले बाहेक कसैले कसैलाई चिकित्सा सेवा दिन, कसैको मानव शरिरको कुनै अंगको चिरफार गर्न, कुनै प्रकारको औषधि खुवाउन वा खान सिफारिस गर्न वा अन्य कुनै प्रकारले इलाज गर्न हुँदैन।’
तर, लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाई सानोतिनो रोग लागेको बिरामीको मानवअंगलाई कुनै प्रतिकूल असर पर्ने गरी सामान्य प्रकारको औषधि खुवाउन वा सानोतिनो घाउ, खटिरा चिरफार गरी उपचार गर्नमा बाधा नपुग्ने जनाइएको छ ।
यसैगरी कसैले बदनियत राखेर उपचार गर्दा ज्यान गए ज्यान मारेर सरह र अंगभंग भए अंगभंग गराए सरहको कसुर ठानेर सजाय गरिने प्रावधान छ।
कसैको उपचार गर्दा पर्याप्त होसियाारी वा सावधानी नअपनाइ लापरबाही वा हेलचक्र्याइँ गरी उपचार गर्न, औषधि दिन र खान सिफारिस गर्न नहुने ऐनमा छ । यदि लापरबाही गरेर ज्यान गएको वा अंगभंग गरेको पाइएमा पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना, हेलचक्र्याइँ गरेर मृत्यु वा अंगभंग भएमा तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुनेछ।


















