निमकान्त पाण्डे
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का हातमा हत्कडी लगाइएको दृश्य सामाजिक सञ्जाललगायत पत्रपत्रिकाहरुमा निकै चर्चित बनिरहँदा मलाई पञ्चायतकालमा आफ्नै हातमा लगाइएको हत्कडीको स्मरण भइरहेको छ । पञ्चायतकाल निर्दलीय शासन व्यवस्था थियो, अर्थात् त्यो बेला दलीय स्वतन्त्रता थिएन, दलीय स्वतन्त्रताका निम्ति आवाज उठाउने क्रममा गरिने गतिविधिलाई नियन्त्रण गर्न पञ्चायती शासकहरुले हत्कडीलाई आधार बनाउनु त्यति अस्वाभाविक मानिदैँनथ्यो । हातमा हत्कडी लाग्दा होस् वा खुट्टामा नेल लगाइदा होस् अथवा प्रहरीको कुटाइबाट शरीर थिल्थिलो बनाईदा पनि राजनीतिक स्वतन्त्रताको निम्ति लडिरहेको छु भन्ने आत्मगौरव महसुस हुन्थ्यो । ती दिन वास्तवमै गज्जबका थिए ।
आज देशमा दलीय स्वतन्त्रता कायम भएको पनि तीन दशक पुग्नै लागेको छ । दलीय स्वतन्त्रताको बाधक बनेको राजतन्त्रले पनि दलीय पद्धतिलाई आत्मसात गरेको थियो । तैपनि राजतन्त्रकै विरुद्ध जनता सडकमा उत्रिए पछि देशबाट राजतन्त्र गयो र गणतन्त्र कायम भएको छ । गणतन्त्र कायम भएकै पनि एक दशकभन्दा बढी समय बितिसकेको छ । राजनीतिक परिवर्तनको यो रफ्तार वास्तवमै नेपाली जनताका लागि ठूलो उपलब्धि भएको छ । परन्तु नेपाली जनताले राजनीतिक परिवर्तनलाई मात्र पनि ठूलो उपलब्धि नमानेर देशमा वामपन्थी शक्तिको बहुमतको सरकार बनाउने समेत जनमत दिएका छन् । वामपन्थीहरुको बहुमतको सरकार बनिरहेको वर्तमान अवस्थामा पनि वामपन्थी कित्ताकै नेता प्रकाण्डका हातमा लागेको हत्कडी सबैका लागि आश्चर्यजनक मानिएको रुपमा सामाजिक सञ्जालमा प्रतिक्रिया आइरहेको पाइन्छ ।
पञ्चायतकालमा नेपालगञ्जमा अध्ययनरत रहँदा राजनीतिक स्वतन्त्रताको पक्षमा गरिएका गतिविधिका आधारमा स्थानीय प्रशासनले गिरफ्तार गर्ने सामान्य चलन थियो । त्यसैक्रममा नेपालगञ्जको पुरानो बीच बजारस्थित त्रिभुवन चोकबाट प्रहरीले मलाई गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा हत्कडी लगाएर राखेपछि मैले आफूलाई गिरफ्तार गरिनुको कारण जान्न जति प्रयत्न गरे पनि मलाई कारण खुलाइएन । दुईघण्टाको अन्तरालमै मलाई जेल सरुवा गर्ने भनेर बाहिर बोलाइयो र हत्कडीसहित भेरी अञ्चल अस्पतालको पछाडि रहेको कारागारमा पु¥याइयो ।
कारागार भित्र नपस्दै हत्कडी खोलियो र मेरो सबै खानतलासी गरी जेलभित्र प्रवेश गराइयो । जेलभित्र म भन्दा केहीबेर पहिले नै त्यो बेलाका विद्यार्थी सहकर्मी गोविन्द ‘बन्दी’ (हाल उनी अधिवक्ता छन्) पुगिसकेका रहेछन् । मेरो स्वागत उनैले गरेका थिए जेलभित्र । जेलमा बस्दाका समयमा मैले र गोविन्द बन्दीले भोग्नु परेको यातनाबारे यहाँ उल्लेख गर्नुको कुनै अर्थ छ जस्तो लाग्दैन । जेलभित्रका गतिविधिहरु सबै विवरण उल्लेख गर्न यहाँ सम्भव पनि छैन र आवश्यक पनि लाग्दैन ।
पञ्चायतकालको पञ्चायती शासकहरुबाट लगाइएको हत्कडी र हालको लोकतन्त्रमा वामपन्थी नामका शासकहरुबाट लगाइएको हत्कडीको तुलना गर्न आवश्यक भने महसुस भइरहेको छ । पञ्चायतकालको आन्दोलन केवल राजनीतिक स्वतन्त्रताको लागि मात्र अवश्य थिएन । गास, बास र कपासको व्यवस्था पञ्चायती व्यवस्थाले गर्न सक्दैन भन्ने मान्यता पनि आन्दोलनमा राखिन्थ्यो । पञ्चायतको अन्त्यपछि अर्थात् बहुदलीय व्यवस्था आएपछि पनि गास, बास र कपासजस्ता जनताका आधारभूत आवश्यकतातर्फ कुनै विकासको हुन सकेको पाइएन । त्यसको विकल्पमा माओवादीले दीर्घकालीन जनयुद्धको लागि हतियार नै उठायो ।
हतियार उठाइएको सशस्त्र संघर्षले १६ हजार जनताको रगत बगायो, अर्बौंका भौतिक संरचनाहरु ध्वस्त बनाइए पनि देशमा राजनीतिक परिवर्तनका नाममा राजतन्त्रको अन्त्य बाहेक अन्य कुनै क्षेत्रमा विकास गर्नुपर्ने आवश्यकता देखिएन । परिवर्तन सीमित नेताहरुका लागि मात्र भयो । आम जनसाधारणले परिवर्तनको अनुभूति गर्न सक्ने अवस्था देखिएन । यस्तो अवस्थाप्रति असन्तुष्टि जनाउँदै राजनीतिक संघर्षलाई निरन्तरता दिने उद्घोषका साथ आन्दोलित भइरहेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई वाम सरकारले पूर्णरुपमा निषेधको व्यवहार गरिरहेको छ ।
पञ्चायतकालमा समेत राजनीतिकर्मीलाई भन्न नसकेका ‘अपराधी’ शब्द प्रयोग गरेर गृहमन्त्री रामबहादुर थापा बादलले आफूलाई पञ्चायतकालका निर्दलीय शासकहरुभन्दा अराजकनीतिक व्यक्तिको रुपमा प्रस्तुत गरेका छन् । बादलको यस्तो अभिव्यक्तिले उनको राजनीतिक संकुचनलाई उजागर गरेको छ ।
पञ्चायतकालमा पञ्चायतको विकल्प दलीय पद्धति आवश्यक मानिएको थियो । तथापि कम्युनिष्ट विचारधाराबाट प्रशिक्षित र कम्युनिष्ट पार्टीमा संगठित भएका म जस्ता कार्यकर्ताहरुका लागि दलीय स्वतन्त्रता मात्र लक्ष्य अवश्य थिएन । जनवाद, समाजवाद र साम्यवादसम्मका परिकल्पनामा निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा हाम्रा आवाजहरु गुञ्जायमान हुन्थे ।
पञ्चायती शासकहरुका यातनालाई पूर्ण रुपमा बेवास्ता गरिन्थ्यो र राजनीतिक परिवर्तनसँगै सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका क्षेत्रमा आमूल रुपान्तरणको परिकल्पनामा रोमाञ्चित भएर संघर्षमा सक्रिय हुने गरिन्थ्यो । मैले गरेका राजनीतिक आन्दोलनका ती ऐतिहासिक घटनाक्रमहरु सम्झने क्रममा वर्तमान वामपन्थी सरकारले गरिरहेका गतिविधिहरु पञ्चायतकालका भन्दा पृथक देख्न सक्ने अवस्था देखिंदैन । बरु एकजना मित्रले वर्तमान राजनीतिक परिवर्तनप्रति टिप्पणी गर्दै भनेथे– ‘पञ्चायतकालमा पोखराबाट काठमाडौं आउँदा गुप्तचरले पिछा गर्थे, अहिले गर्न छोडेका छन् ।’ परन्तु हेटौडाबाट काठमाडौं आइपुगेका नेकपाका प्रवक्ता प्रकाण्डलाई अपहरणको शैलीमा गिरफ्तार गरेर आँखामा पट्टि र हातमा हत्कडी लगाएको अवस्थाले राजनीतिक परिवर्तन आमूल रुपान्तरण चाहने राजनीतिककर्मीहरुको लागि भएको छैन भन्ने पुष्टि गरेको छ । जनधारणा साप्ताहिक


















