नेकपाको पाँच प्रदेशकै एकीकरणको अन्तिम खाका तयार

118

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भदौ पहिलो साताभित्र एकीकरण टुंगो लगाइसक्ने तयारी गर्दैछ । नेकपाले प्रदेश र जिल्ला तहमा धमाधम एकीकरणको प्रारम्भिक खाका तयार पारेको छ भने सातमध्ये बुधबारसम्म पाँचवटा प्रदेशको अन्तिम खाका तयार भइसकेको छ ।

अहिलेसम्म सात वटा प्रदेशमध्ये प्रदेश नम्बर १, ३, कर्णाली र प्रदेश नम्बर ७ नम्बर प्रदेश कमिटीको अध्यक्ष पूर्व एमालेले पाउने गरी एकीकरण खाका तयार भएको छ । त्यस्तै, प्रदेश नम्बर २, ४ र ५ नम्बरमा भने पूर्वमाओवादीले अध्यक्ष पाउने गरी एकीकरण खाका तयार भएको बताइएको छ ।

प्रदेश नम्बर–१ को २ सय ७ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय २२ र पूर्व माओवादीबाट ८५ जना रहने गरी टुंगो लागेको कार्यदल सदस्य भीम आचार्यले जनाएका छन् । १४ जिल्ला रहेको प्रदेशमा पूर्वएमालेले १० र पूर्वमाओवादीले चार जिल्लाको नेतृत्व गर्ने गरी अन्तिम छलफल चलिरहेको छ । इलाममा एमालेले नेतृत्व गर्ने सहमति भएको छ ।

प्रदेश नम्बर–२ को २ सय १५ सदस्यीय कमिटीमा पूर्वहाराहारी हिस्सेदारी रहने गरी पूर्व एमालेबाट १ सय ८ र पूर्वमाओवादीबाट १ सय ७ जना रहेको कमिटी बन्ने मोटामोटी समझदारी भएको छ । यद्यपि, कार्यदल सदस्य सत्यनारायण मण्डलले ३१ गते मात्र सबै टुङ्गो लगाएर केन्द्रीय सचिवालयलाई प्रतिवेदन बुझाउने बताए । आठ वटा जिल्लामध्ये आधा–आधा जिल्ला नेतृत्व हुने गरी छलफल चलिरहेको बताइएको छ ।

प्रदेश नम्बर ३ मा पूर्वएमालेबाट १ सय १६ र पूर्वमाओवादीबाट १ सय १ जना रहेको प्रदेश कमिटी बनाउने मोटामोटी समझदारी भएको छ । १७ वटा जिल्ला कमिटीमध्ये पूर्व एमालेले ११ या १२ र माओवादीले ६ वटा जिल्लाको नेतृत्व लिने गरी अन्तिम छलफल चलिरहेको कार्यदलका सदस्यहरूले बताएका छन् । अहिलेसम्म रामेछाप, सिन्धुली, रसुवा र उद्यमी–व्यवसायी जिल्ला कमिटीको संख्यासमेत टुंगो लागेको छ ।

प्रदेश ४ मा नेकपाले प्रदेश कमिटीसहित ९ जिल्लामा पूर्वपार्टीका तर्फबाट कसको कति संख्यात्मक हिस्सेदारी रहने अन्तिम टुंगो लगाएको छ । कार्यदल सदस्य, युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माका अनुसार केन्द्रीय सचिवालयबाटै प्रदेश र जिल्लाको ईन्चार्ज तथा अध्यक्ष टुंगो लगाउनेगरी संख्यात्मक हिस्सेदारीमा सहमति भएको छ ।

प्रदेश ५ मा जिल्ला कमिटीहरूमा पूर्वएमाले र माओवादीको संख्यात्मक हिस्सा २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका १ सय ६ र माओवादीका ९७ जना रहने टुंगिएको छ । जसअनुसार २ सय ३ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका तर्फबाट १ सय ५ र माओवादीका तर्फबाट ९८ जना रहने गरी संख्या टुंगो लागेको छ । त्यस्तै, प्रदेशका १२ वटा जिल्लामध्ये नौ जिल्लामा पूर्वएमाले तथा दुई जिल्ला पूर्वमाओवादीको जिल्ला कमिटीमा बहुमत रहने गरी टुङ्गो लागेको छ ।

कर्णालीमा २ सय ५ सदस्यीय प्रदेश कमिटीमा पूर्वमाओवादीबाट ८८ र एमालेबाट ८७ जना रहने टुंगो लागेको छ । १७५ सदस्यीय प्रदेश कमिटीमा पूर्वएमालेका ८७ र पूर्वमाओवादी ८८ सदस्य रहने टुंगो लागेको छ । कूल ९ जिल्लामध्ये सुर्खेत, दैलेख, डोल्पा, सल्यान र मुगुमा पूर्वएमालेले जिल्ला नेतृत्व लिनेछ भने जाजरकोट, कालिकोट, पश्चिम रुकुम, जुम्ला र हुम्लामा पूर्वमाओवादीले नेतृत्व लिनेछ । सबै जिल्लामा दुवैतर्फबाट हाराहारी संख्या रहने गरी जिल्ला कमिटी बनाउने समझदारी भएको छ ।

प्रदेश ७ को एकीकरण कार्यदलले प्रदेश कमिटी र जिल्ला कमिटीहरूको संख्या बाँडफाँट टुंगो लगाएको छ । जसअनुसार १ सय ८३ सदस्यीय प्रदेश कमिटीमा पूर्व एमालेबाट १ सय र माओवादीबाट ८३ जना रहनेछन् । प्रदेश कार्यालयमा पूर्वएमालेबाट ४ र माओवादीबाट ३ जना रहने कार्यदल सदस्य कर्ण थापाले बताए । त्यस्तै, प्रदेशका ९ जिल्लामध्ये बाजुरा, अछाम, डोटी, कैलाली र बैतडीको अध्यक्ष पूर्व एमाले तथा बझाङ, डडेलधुरा, दार्चुला र कञ्चनपुरको अध्यक्ष पूर्व माओवादीबाट रहने समझदारी भएको छ । जिल्ला नेतृत्व गर्ने पक्षको बहुमत रहनेगरी जिल्ला कार्यालयमा ७ मध्ये ४ सदस्य रहनेछन् ।

यस्तो छ एकीकरण मापदण्ड
संसद् र स्थानीय तहको निर्वाचन परिणाम, समानुपातिकतर्फको खसेको मत, पार्टी सदस्य संख्या, जेष्ठता र दुवैतर्फ स्वीकार्य व्यक्तित्वजस्ता मापदण्डका आधारमा प्रदेश र जिल्लाका अध्यक्ष र संख्यामा पूर्वपार्टीको हिस्सेदारी रहने गरी बाँडफाँटको तयारी भइरहेको छ । ‘एउटा विधि प्रक्रिया र मापदण्डभित्रै रहेर मूल नेतृत्व र संख्यात्मक हिस्सेदारी टुंग्याउने गरी अहिले छलफल चलिरहेको छ,’ प्रदेश १ का कार्यदल सदस्य भीम आचार्यले भने, ‘सकेसम्म मूल नेतृत्व पनि तलै टुंग्याउने प्रयास गर्छौं, टुंगिएन भने केन्द्रीय सचिवालयमा सिफारिस गर्छौं ।’ एकीकरणका लागि सातै प्रदेशमा कार्यदलले छलफल तीव्र पारेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here