नेपालको १६५ वर्ष पुरानो मुलुकी ऐन आजबाट विस्थापित भएको छ । आजबाट मुलुकले नयाँ कानुनको अभ्यास गर्ने छ । नेपालले आज देखि मुलुकी देवानी र अपराध संहिता सहितका पाँच नयाँ कानुनको अभ्यास गर्दै छ । नयाँ कानुन लागु भएको अवसरमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी समेत गरिएको छ । महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयका अनुसार मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि अर्थात आजदेखि लागू हुन लागेको सन्दर्भमा पहिलो दिन देशव्यापीरूपमा दीपावली मनाउन लागिएको हो ।
महान्यायाधिवक्ता कार्यालयअन्तर्गतका ७७ वटै जिल्ला सरकारी वकिल कार्यालय, १८ वटा उच्च सरकारी वकिल कार्यालय, राजधानी काठमाडौँस्थित विशेष सरकारी वकिल कार्यालय र महान्यायाधिवक्ताको कार्यालयमा दीपावली गरिने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
सरोकारवालाका बीचमा संहिताका मुख्य विशेषताका बारेमा अन्तक्र्रिया कार्यक्रम गर्न महान्यायाधिवक्ताको कार्यालयले देशैभरका कार्यालयलाई निर्देशन दिएको छ ।
व्यवस्थापिका संसद्बाट पारित भईसकेको संहिता राष्ट्रपतिबाट गत वर्ष नै प्रमाणीकरण भएको थियो । सर्वोच्चका तत्कालीन न्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा देवानी र कल्याण श्रेष्ठको संयोजकत्वमा फौजदारी संहिता कार्यदल गठन गरी तय भएको बृहत् मस्यौदालाई तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई २०६८ सालमै बुझाइएको थियो। नयाँ कानुन बनेसँगै तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाले वि.सं. १९१० बनाएको मुलुकी ऐन विस्थापित भएको छ ।


















