प्रस्तावित चिकित्सा संहिता पारित नभएका कारणले बचेका दुई ज्यान

162

चन्द्रप्रकाश बानियाँ

विघटित धवलागिरि अञ्चलको सेरोफेरोमा यतिखेर जनस्वास्थ्यसँग सम्बन्धित एउटा घटना चर्चाको शिखरमा छ । चौर चौतारी, होटेल रेष्टुरेन्टहरूमा मात्रै होइन, मिडियाहरूमा समेत त्यही समाचार व्याप्त छ । क्रिया प्रतिक्रियाको विषय बनेको छ । भएछ के भने– बाग्लुङ्गको कुनै दूर दुर्गम गाउँबाट प्रसुति सम्बन्धी एउटा जटिल केस जिल्ला सदरमुकामस्थित अञ्चल अस्पतालमा आएछ । अञ्चल अस्पतालमा डेढ दर्जनजति विशेषज्ञ डाक्टरहरूको दरवन्दी छ । अत्याधुनिक अस्पताल भवन बनेको छ । ५० शैयाको उक्त अस्पताल बाहिरबाट हेर्दा भरोसालाग्दो देखिन्छ ।

तर दुर्भाग्य ! बाहिर जस्तो देखिन्छ आन्तरिक व्यवस्थापनका दृष्टिले त्यस्तो रहेनछ । दरबन्दी अनुसारका डाक्टरहरू कहिल्यै हुँदारहेछन् । सरकारले खटाइहाल्यो भने पनि डाक्टरहरू आउँदा रहेनछन् । आइहाले पनि महिनाभर टिक्दारहेनछन् । यसपटक पनि त्यस्तै भएछ । सम्बन्धित डाक्टरहरू रहेनछन् । भएका डाक्टरहरूबाट काम चलाउनका लागि आवश्यक उपकरणहरूको नितान्त अभाव रहेछ । स्वभावतः अस्पतालले सुगिवधायुक्त अस्पतालमा जाने सल्लाह दिएछ । क्षेत्रीय अस्पताल पोखरालाई रिफर गरिदिएछ । तत्काल आवश्यक सेवा सुविधा दिन असमर्थ अस्पतालले पेसेन्टलाई अल्झाएर राख्नु प्राणघातक हुन सक्दथ्यो । ज्यानको तलवितल हुनसक्ने गम्भीर विषयमा लाज मानेर काम चल्दैनथ्यो । बाग्लुङ्ग अस्पतालले आफ्नो धर्म निर्वाह ग¥यो । विरामीको परीक्षण ग¥यो । अवस्था जटिल रहेको जानकारी गरायो । राम्रो अस्पतालमा जाने परामर्श दियो । पोखरास्थित साधन सुविधा सम्पन्न क्षेत्रीय अस्पताल जान रिफर गरिदियो ।

बाग्लुङ्गबाट पोखराको लागि हिँडेको एम्बुलेन्स पहिरोको कारणले बाटैमा रोकिएछ । पोखरा पुग्न नसकिने भएपछि एम्बुलेन्स फर्कियो । पेसेन्टको अवस्था गम्भीर भएकोले बाटोमा पर्ने पर्वतको जिल्ला अस्पतालमा लगिएछ । विना अपरेसन प्रसुति गराउन सम्भव रहेनछ । अस्पतालमा आवश्यक उपकरण नभएको हुनाले विरामीलाई वैरङ्ग फर्काउनुपर्ने अवस्था उत्पन्न भएछ । संयोगवस पर्वत अस्पतालमा म्याग्दीबासी डाक्टर कार्यरत रहेछन् । उनलाई म्याग्दी अस्पतालमा त्यस्तो खालको सेवा उपलब्ध हुने गरेको कुराको जानकारी रहेछ । उनले तत्काल म्याग्दी अस्पतालमा फोन गरेर उपकरण उपलब्ध हुने कुराको सुनिश्चितता गरेछन् र पेसेन्ट लिएर आफै म्याग्दी पुगेछन् । म्याग्दी अस्पतालले सुरक्षित प्रसुति गराएछ । यसरी सौभाग्यबस दुई ज्यान बचेछन् ।

वास्तविक घटना यत्ति नै थियो । ‘कुरो र कुलो जता लगे पनि हुन्छ’ भनिन्छ । कसैले यो घटनालाई म्याग्दी अस्पताललाई उचाल्ने विषय बनाए, कसैले बाग्लुङ्ग अस्पताललाई खसाल्ने साधन बनाए । कसैले बाग्लुङ्ग अस्पतालका डाक्टरहरलाई समवेदनाहीन राक्षस नै ठह¥याए, कसैले म्याग्दी पर्वत अस्पतालका डाक्टरहरूलाई देवदूत बनाए । वास्तवमा तीनैथरी चिकित्सकहरूले आ–आफ्ना कर्तव्य इमान्दारीपूर्वक निर्वाह गरेकै हुन् । प्राकृतिक प्रकोपका कारणले सडक अवरुद्ध नभैदिएका पेसेन्टलाई पोखरा समयमै पु¥याइन्थ्यो र सुरक्षित प्रसुति गराइन्थ्यो । चियो चर्चाको विषय बन्दैनथ्यो । आफूकहाँ उपचार हुन नसक्ने अनेकौं विरामीहरू बाग्लुङ्गबाट पोखराका लागि रिफर भएर आउँछन् । त्यस्ता घटनाहरू दैनिक घट्ने गर्छन् । त्यो घटनामा दुर्भाग्यबस पोखरा पुग्न नसकिने अवस्था उत्पन्न भैदियो ।

पोखरा जान नसकिने भएपछि भगवान भरोसामा फर्कनुपर्ने अवस्था उत्पन्न भयो । त्यो नितान्त संयोगको विषय थियो । अञ्चल अस्पतालले क्षेत्रीय अस्पतालका लागि रेफर गरेको विरामी जिल्ला अस्पतालमा पु¥याउनु भनेको उपचारको आशा मारिएको अवस्था होइन भन्न मिल्दैन । घरपरिवारको आमद हैसियत बलियो भैदिएका भए हेलिकोप्टरको व्यवस्था गरेरै भए पनि पोखरा उतारिन्थ्यो । त्यस्तो अवस्था नरहेकैले पर्वतको अस्पतालमा लगियो । त्यहाँ पनि नहुने भएपछि उल्टो बाटो म्याग्दी पु¥याइयो । त्यो आर्थिक अवस्था कमजोर रहनुको विवशता थियो । धन्न, म्याग्दीले प्रसुतिसेवा उपलब्ध गराउने क्षमता राख्दो रहेछ र दुई ज्यान जोगिए ।

धन्न केही दिन वा केही हप्ता ढिलो भएनछ र दुई ज्यान जोगिएछन् ! अलिकता ढिलो भैदिएका भए ती ज्यानहरू नबच्न पनि सक्दा रहेछन् भन्ने कोणबाट धवलागिरिको समाजमा चर्चा चल्ने गरेको छ । संसदमा प्रस्तुत मुलुकी संहिता जस्ताको तस्तै पास भैसकेको हुन्थ्यो भने विरामीहरूको ज्यान बच्ने सम्भावना समाप्त हुन सक्थ्यो भन्ने अनुमान समाजले गर्न थालेको छ । मौजुदा मुलुकी ऐनलाई विस्थापित गर्नका लागि यतिखेर सरकारले फौजदारी तथा देवानी संहिता संसदमा दर्ता गरेको छ । त्यसमा व्यवस्था भएको चिकित्सा सम्बन्धी प्रावधानले समाजमा यस्तो खालको त्रास उत्पन्न गरेको हो ।

साँचै ऐन जस्ताको तस्तै पास भएको हुन्थ्यो भने ती आमा र बच्चा द्वयको ज्यान नबच्न पनि सक्तथ्यो । बाग्लुङ्गले आफूले सेवा दिन नसक्ने ठह¥याएर उपल्लो अस्पतालमा रिफर गरेको थियो । पोखरा पु¥याउन नसकिने भएपछि फर्काइएको पेसेन्टलाई पर्वतको जिल्ला अस्पतालले हेर्ने जोखिम उठाउँदैनथ्यो । पोखरा पु¥याउनुपर्ने विरामीलाई फर्काएर म्याग्दी पु¥याउने जोखिम पर्वतको डाक्टर पनि उठाउने थिएनन् । धेरै ढिलो भैसकेको हुनाले सुरक्षित प्रसुति गराउन सकन्छि भन्ने प्रत्याभूति हुदैनथ्यो । कमथ विरामीको ज्यान तलमाथि भैहाल्यो भने कानुनतः सजायको भागिदार बन्नुपथ्र्यो । त्यस्तो जोखिम उठानु सरासर मुर्खाता ठहथ्र्यो ।

संहिता पारित भैसकेको हुन्थ्यो भने म्याग्दी अस्पतालले पनि प्रसुति गराउने जोखिम उठाउँदैनथ्यो । किनकि अञ्चल अस्पतालले क्षेत्रीय अस्पताल जानका लागि रिफर गरिसकेको थियो । फेरि म्याग्दी अस्पतालमा सम्बन्धित विषयविज्ञ भएको अवस्था पनि थिएन । ज्ञान होइन साहसले उपचार गर्नुपर्ने अवस्था थियो । विज्ञताले होइन, आवश्यकताले कैची चलाउनुपर्ने वाध्यता उपस्थित भएको हो । जोखिम मोल्दा दुर्घटना भैहाल्यो भने दोषभागी हुनुपर्ने मात्र होइन, दण्डभागी बन्नुपर्ने अवस्था आउनसक्थ्यो । दण्डभागी बन्नु नपर्ने भएकोले डाक्टरहरूले अनधिकृत अभ्यास गर्ने हिम्मत गर्ने हुन् ।

कानुनको तरबार डाक्टरको टाउकोमाथि झुण्डिएपछि कुनचाही मुर्खले जोखिम उठाउँछ र ? विज्ञ, अभ्यस्त र अधिकृत हातहरूबाट भएका उपचारहरूसमेत कैयौं असफल हुन्छन् भने सिकारु र अनधिकृत हातबाट दुर्घटना निम्तदैन भनेर कसले भन्न सक्छ र ? त्यसमाथि जति नै आत्मविश्वास र सीप भएपनि जोखिम सून्यप्रतिशत हुदैन । सतप्रतिशत सफलताको आत्मविश्वास कसैमा हुदैन । त्यस्तो अवस्थामा ‘आफ्नो टाउको जोगाउँदा मितको टाउको फुटे फुटोस्’ भन्ने मनोविज्ञानले काम गर्छ । धन्न संसदमा विचारधीन रहेको संहिता पारित भैनसकेको अवस्था थियो र बाग्लुङ्गका दुईवटा जीवनहरू बचे । संहिता पारित भैसकको हुन्थ्यो भने ती दुई ज्याने बच्ने सम्भावनै थिएन भन्दा फरक नपर्ला । के हाम्रा माननीयहरूमा उपचार र डाक्टर दुबैको सम्वेदनशीलतालाई मनन गरेर संहिता परिमार्जन गर्ने विवेक पलाउला त ?

कानुन र विवेकबाट भन्दा भावनाबाट अभिप्रेरित हुने अभ्यास नेपालीहरूमा जीवित छ । डाक्टरको व्यवशाय मानिसको जीवन बचाउनका लागि हो । जानेर कुनै डाक्टरले पनि मानिसको ज्यानसँग खेल्दैन । हरेक गम्भीर उपचारका जोखिमको केही प्रतिशत रहन्छ । दुर्घटनाका लागि सून्य दशम्लब एक पनि पर्याप्त हुन्छ । सबैकुरा ठिकठाक भएर पनि मानिसको जीवनमा जोखिम निम्तन सक्छ । डाक्टर मृत्यु टार्ने कोशिस गर्ने हुन् । मृत्युमाथि विजय प्राप्त गर्ने क्षमता कसैसँग पनि हुदैन । विरामी घरमा राखेर निको हुने भैदिएका भए कसैले पनि अस्पताल पु¥याउँदैनथ्यो । अस्पतालमा ज्यान बचाउने विरामी लगिने हो । डाक्टरहरूको कर्तव्य ज्यान बचाउनेल कोशिस गर्ने हो ।

मृत्यु पन्छाउने हैसियत डाक्टरसँग पनि हुदैन । कैयौं अवस्थामा कोशिस गर्दागर्दै र सबैकुरा ठिकठाक हुँदाहुँदै पनि दुर्घटना निम्तन्छ । त्यसको दोष डाक्टरमाथि थोपर्ने प्रवृत्तिको विकास हुँदै गएको छ । डाक्टरको इमानमा विश्वास नगर्ने हो भने अस्पतालसम्म विरामी किन पु¥याउनु ? होइन, भरोसा गर्नुपर्ने डाक्टरमाथि नै हो भने उसको इमानमा किन अविश्वास गर्ने ?हो समाजमा विकसित भएको अवाञ्छित प्रवृत्तिबाट अभिप्रेरित भएरै डाक्टरहरूको टाउको माथि तरबार झुण्डाउने नादानी गरिएको होइन भन्न मिल्दैन ।

डाक्टरलाई थप जिम्मेवार बनाउने उपक्रम गर्न खोज्दा गम्भीर विरामीहरूले डाक्टरको उपचार नै नपाउने परिस्थ्तिि उत्पन्न हुनसक्ने कुरातिर ध्यान नपु¥याएको देखिन्छ र त्यस्तो प्रावधान परिमार्जित हुनु आवश्यक देखिन्छ । प्रस्तावित संहिताले विरामीको होइन, डाक्टरको सुरक्षाले प्राथमिकता पाउने परिस्थिति निर्माण गर्नेछ । किनकि डाक्टरहरूले आफू सजायभागी बन्नुपर्ने जोखि उठाउने छैनन् । परिणामस्वरूप आकस्मिक र गम्भीर विरामीहरूले चिकत्सकीय सेवा प्राप्त गर्न सक्ने छैनन ।जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here