काठमाडौँ, ९ भदौ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका समुहसँग छलफल गर्न वार्ता टोली गठन गरिएको हो । बैठकले सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा उच्चस्तरीय वार्ता टोली गठन गरेको हो । वार्ता टोलीका अन्य सदस्यमा सुरेश आले मगर तनहुँ, तारानाथ चौधरी सप्तरी, लीला भण्डारी कैलाली र गृह मन्त्रालयले तोकेको एकजना सहसचिव रहने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए । त्यसैगरी बैठकले सुरक्षित आप्रवासन परियोजना कार्यान्वयन गर्न स्विस सरकारबाट रु दुई अर्ब अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
‘बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच प्रविधि हस्तान्तरणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई दिने निर्णय गरेको छ । कञ्चनपुरको महेन्द्रनगरमा भएको घटनाको निष्पक्ष छानबिन गर्न समिति गठन भइसकेको परिप्रेक्ष्यमा केही तत्वले परिस्थितिलाई उत्तेजक बनाउन खोजेकामा खेद व्यक्त गर्दै सरकारले दोषीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । उक्त घटनाप्रति सरकार संवेदनशील रहेको र दोषीलाई कानूनको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता पनि सरकारले व्यक्त गरेको छ ।


















