काठमाडौँ, ९ भदौ । म्यान्मारका राष्ट्रपति मीन मेइन्ट चारदिवसीय नेपाल भ्रमणका क्रममा यही भदौ १२ गते काठमाडौँ आउने भएका छन् ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनका सिलसिलामा हुन लागेको उनको यो भ्रमणका बेला नेपालका राष्ट्राध्यक्ष र सरकार प्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति मीन मेइन्ट शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण पूरा गरी भदौ १५ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । त्यस्तै, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले भदौ १३ देखि १६ गतेसम्म नेपालको सद्भावना भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
बिम्स्टेक शिखर सम्मेलनकै सिलसिलामा हुन लागेको उनको यो भ्रमणका अवसरमा नेपाल र श्रीलङ्काबीच विद्वत् समूह गठनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।
त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भदौ १४ गते काठमाडौँ आइपुग्ने कार्यक्रम रहेको छ । उनले भदौ १५ गते नेपाली समकक्षी प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय वार्ता गर्ने छन् ।
भारतका प्रधानमन्त्रीसँगको भेटवार्तापछि काठमाडौँ–रक्सोल रेलसेवा सञ्चालनको सम्भाव्यता अध्ययन र मालवाहक रेलसेवासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनुका साथै भारत सरकारको सहयोगमा पाशुपत क्षेत्रमा निर्मित धर्मशालाको उद्घाटन हुने मन्त्री ज्ञवालीले बताए ।


















