कञ्चनपुर/ कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ ।
भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्दै एक सातादेखि भीमदत्तनगर र आसपासको क्षेत्रमा स्थानीयबासीले आन्दोलनलाई सशक्त बनाएका थिए । सोही क्रममा भीमदत्तनगरमा गत बिहीबार र शुक्रबार दोहोरो झडप हुँदा स्थिति अशान्त बनेको थियो ।
शान्ति सुरक्षा नै खलबलिने स्थिति आएपछि गत शुक्रबार रातिदेखि विभिन्न समयमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लगाउँदै आएको कफ्र्यू अहिले अवस्था सामान्य बन्दै गएपछि खुकुलो बनाउँदै लगिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो ।
मङ्गलबार राति ८ देखि बुधबार बिहान ४ बजेसम्म यहाँ कफ्र्यू लगाइएको थियो । स्थिति सहज बनिरहेको जनाउँदै प्रहरी उपरीक्षक कडायतले अवस्था सामान्य भएसँगै कफ्र्यू हटाइने जनाउनुभयो।
आन्दोलनका क्रममा घाइते भएका आन्दोलनरत पक्ष र प्रहरीको भीमदत्तनगरदेखि काठमाडौँसम्म विभिन्न अस्पतालमा उपचार हुुँदैछ । घाइतेको उपचार पनि सरकारले गर्ने भएको छ ।