काठमाडौं/ सहपाठीहरुले लेखेको पत्र पढेपछि प्रधानमन्त्रीले तुरुन्तै गृहमन्त्रीलाई बोलाएर प्रहरी उच्च अधिकृत नेतृत्वको सीआईबी टोली अनुसन्धानमा पठाउन निर्देशन गरेको प्रधानमन्त्री निकट स्रोत जानकारी दिएको छ।
प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयले पठाएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुरप्रसाद ज्ञवाली नेतृत्वको टोलीले महेन्द्रनगर पुगेर अनुसन्धान थालेको छ।

निर्मलाको बलात्कारपछि हत्या भएको ३९ औं दिन बितिसकेको छ । शुक्रबार निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिकाका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका थिए ।
सीआईबी टोली अनुसन्धानका लागि महेन्द्रनगर पुगेको विषयमा जिल्लास्थित प्रहरी अधिकारीले प्रष्ट पारेका छैनन्।
निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धान गर्न यसअघि केन्द्रीय अनुसन्धान ब्यूरोका डीएसपी अंगुर जीसी नेतृत्वको टोली महेन्द्रनगर पुगेको थियो । टोलीले घटनाको २६ औं दिन भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टले नै बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरेर सार्वजनिक गरेका थियो ।
भदौ ४ गते प्रहरीले दिलिप सिंह विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि स्थानीयले मानसिक अवस्था ठीक नभएका विष्टलाई आरोपी बनाएर घटनाका वास्तविक दोषी जोगाउन खोजेको भन्दै महेन्द्रगरमा आन्दोलन गरेका थिए ।
आन्दोलनमा प्रहरीले गोली चलाउँदा १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो। घटनापछि गृहमन्त्रालयले छानबिन गर्न कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकलाई गृहमन्त्रालयमा तानेर नयाँ सुरक्षा नेतृत्व जिल्लामा पठाएको छ।


















