संविधान संशोधन नभएसम्म कालो दिवस मनाईरहने मधेशवादी नेताको घुर्की

178

काठमाडौं/ राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन नभएसम्म आफ्नो पार्टीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाईरहने जनाएका छन् ।

नेता कर्णले भने,‘हामीले यसअघिपनि दुई पटक कालो दिवस मनाईसकेका छौं । भोलि पनि हामी कालो दिवस नै मनाउँछौं । देशैभरि विभिन्न जिल्लामा हामी प्रर्दशन गर्छौं र बेलुका केही समय ‘ब्ल्याक–आउट’ गर्ने कार्यक्रम छ ।’

संविधान जारी हुँदासम्म सयौं जनताले सहादत प्राप्त गरेको र अहिलेपनि सयौंको संख्यामा आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरु घाईते, अपांग भएर अस्पतालमा बस्न बाध्य भएको बताउँदै उनले भने,‘अहिलेपनि सयौं जनामाथि सरकारले झुठो मुद्दा चलाएको छ । त्यसकारण हामीले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएका हौं ।’

यद्धपी उनले आफूहरु सुरुदेखि नै संविधान संशोधनको माग गरेको भएपनि संविधान पूनर्लेखन नै गर्न भनेर माग नगरेको स्पष्ट पारे । उनले थपे,‘हामीले संविधान पूनर्लेखन गर्नुपर्छ भनेर कहिल्यैपनि भनेनौं ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् ।  नेता लेखकले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको भन्दै सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको आरोप लगाए ।

सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवम् सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने जनाउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको स्पष्ट पारे । उनले भने,‘हाम्रो पार्टी २ बुँदे सम्झौता गरेर सरकारमा गएको छ । जबसम्म संविधान संशोधन हुँदैन्, तबसम्म यो सर्वस्विकार्य हुँदैन् ।’
नेता यादवले आफ्नो पार्टीले भोलिको संविधान दिवसलाई दिवसको रुपमा पनि नमनाउने र कालो दिवसपनि नमनाउने स्पष्ट पारे । उनले भने,‘न हामी दिवस मनाउँछौं । न त कालो दिवस नै । अहिलेपनि संविधानमा हाम्रो असन्तुष्टि छ । खास गरेर सिमांकनको कुरामा हाम्रो असन्तुष्टि छ ।

उनले यही वर्षभित्र संविधान संशोधन नभए आफ्नो पार्टी सरकारबाट बाहिरिनेपनि चेतावनी दिए । उनले भने,‘संविधान संशोधन नभए हाम्रो पार्टी एक सेकेण्डपनि सरकारमा बस्दैन् । यो वर्षभित्र संशोधन हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।’

उनले २ नम्बर प्रदेशमा आफ्नो पार्टीका नेता मुख्यमन्त्री रहेकोले भोलि प्रदेश सभामा मनाउने संविधान दिवसमा सहभागी नहुने स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here