काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई मधेस जोड्ने द्रुत मार्ग(फाष्ट ट्रयाक)बारे प्रेस ब्रिफिङ्ग गरेको छ । असोज ४ गते प्रेस ब्रिफिङ्ग गर्दै सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलन गरेर चार महिना भित्र डीपीआर तयार हुने दाबी समेत गरेको छ । उक्त डीपीआर सम्झौताको लागि कोरियाली परामर्शदाता कम्पनी सुसुङलाई छनोट गरिएको सेनाले जनाएको छ ।
सेनाले निर्माण जिम्मा पाएको १३ महिनापछि चार महिनाभित्र डीपीआर सक्ने र चार वर्षभित्र निर्माण सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो ।
डीपीआर १० करोड १५ लाख रुपैयाँमा तयार हुने फाष्ट ट्रयाक परियोजना प्रमुख उपरथी योगेन्द्रबहादुर खाँणले जानकारी दिएका छन् । सुसुङ कम्पनी छनोटबारे खाँणले भने–‘डीपीआरका लागि १७ विदेशी कम्पनीले आवेदन दिएका थिए । त्यसमध्येमा सुसुङ छानिएको हो, चार महिनाभित्र डीपीआर सक्ने र आगामी चारवर्षभित्र सडक निर्माण कार्य सक्नेगरी काम अघि बढिरहेको छ ।’
एशियाली विकास बैंकले सन् २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक काम गरिरहेको छ । फाष्ट ट्र्याकको डिजाइनमा समेत केही परिवर्तन हुने खाँणले जानकारी दिएका छन् । त्यस्तै छोक्रे डाँडादेखि बाँदरे खोल्सीसम्मको करिब १२ किलोमिटर क्षेत्रमा तीनवटा सुरुङ निर्माणका लागि यसअघिको रेखांकन पनि परिवर्तन हुने उनले जानकारी दिए ।


















