काठमाडौं/ कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको न्याय मागमा ‘निर्मलाको लागि न्याय अभियान’ले निर्मलाको बलात्कारी तथा हत्यारालाई तुरून्त पक्राउ गरी कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
बिहीबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मलेन गर्दै निर्मलाका निम्ती न्याय अभियानले सरकारले अनुसन्धानको नाममा जनताको आँखामा छारो हालिरहेको आरोप लगाएको छ । निर्मला हत्याको ७० दिन बितिसक्दा पनि अनुसन्धानको प्रतिवेदन सार्वजनिक नगरिएकोप्रति अभियानले सरकारप्रति गम्भिर आक्रोश पोखेको छ ।
आधा दर्जन निर्दोष मानिसलाई पक्राउ गरेर यातना दिएको तथा वास्तविक अपराधीलार्ई सरकारले संरक्षण गरिरहेको पनि अभियानले आरोप लगाएको छ । प्रहरीदेखि मन्त्रालय स्तरसम्मका पाँच छानबिन समिती बनाउँदा पनि समितिको प्रतिवेदन आजसम्म सार्वजनिक नगरेकोमा आपत्ति जनाएको हो ।
कार्यक्रममा बोल्दै अधिकारकर्मी शारदा चन्दले अहिले महेन्द्रनगरमा के भैरहेको छ ? भनेर सरकारलाई प्रश्न गरेकी छिन । शान्तिपूर्ण आन्दोलनको क्रममा एक अनाहक नागरिकको ज्यान गएकोेप्रति दुःख व्यक्त गर्दे उनले अबपनि सरकारले बास्तविक अपराधीलाई सार्वजनिक नगरे हजारौ आमाहरु ज्यान दिन तयार रहेको बताईन् ।
उनले भनिन्,‘घाईतेको जीवन रक्षाको मागसहित उनको जीवनको ग्यारेन्टीको पनि माग गर्दछु । अनुसन्धानको क्रममा हामीमाथि बिभिन्न धम्कीहरु आईरहेका छन । त्यसप्र्रति सरकारको ध्यानकर्षण गराउँछु ।’
राज्यले नयाँ प्रहरी नेतृत्वको टोली कञ्चनपुरमा खटाएपनि यो सबै नाटकमात्र भएको उनले आरोप लगाईन् । प्रहरी प्रशासन त बजारमा घुमिरहने पागलको खोजीमामात्रै लागेकोपनि उनले जनाईन ।
निर्मला पन्तको बारेमा प्रधानमन्त्रीले बेला–बेला दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै उनले प्रधानमन्त्रीको शब्दले पीडीत परिवारमाथी थप पीडा थपेको जनाईन् । उनले नयाँ नेतृत्वको प्रहरी डिआईजीले निर्मलाको आमा–बुवालाई नभेटेकोप्रति पनि आपत्ति जनाईन् ।
चन्दले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राज्यको अभिभावकको रुपमा नरहेकोसमेत बताईन् । उनले भनिन्,‘के अमेरिका, चीन वा भारतका प्रधानमन्त्रीले आएर निर्मलामाथी अन्याय गरे त ?, होईन भने किन अपराधी पत्ता लाग्दैन ?’
अभियानले आगामी शनिवार दिउँसो १ बजेबाट राजधानीको माईतीघर मण्डलामा प्रर्दशनमा उत्रने चेतावनी पनि दिएको छ । आजसम्म भएका घट्नाको छानबिनको प्रतिवेदन सार्वजनिक नगरिनु, राष्ट्रिय मानवअधिकारको प्रतिवेदन लुकाईनु आदि घट्नाले राज्यले कुन चाहीँ भीभआईपी अपराधी हो सत्य–तथ्य बाहिर ल्याउन आग्रह गरिएको छ ।
अभियानले निर्मला बलात्कार तथा हत्या काण्डको शुरू अनुसन्धानको नेतृत्व गर्ने एसपी डिल्लिराज बिष्टलगायतका अनुसन्धान टिमलाई विभागीय कारवाहीमामात्र सिमित नराखी फौजदारी कानुनको दायरामा तत्काल ल्याउन समेत माग गरेको छ ।
महिला विरुद्ध हुने सम्पूर्ण अपराधका सम्बन्धमा सरकारको तर्फबाट बहस पैरबी गर्ने विशेषज्ञ सरकारी वकिलको ब्यवस्था गर्नपनि अभियानले माग गरेको छ।

















