बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान

101

काठमाडौं/ नेपाललाई मेडिकल हबको रुपमा विकास गरी मेडिकल टुरिजमको उत्कृष्ट गन्तव्यको रुपमा नेपाललाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्यले नेपाल मेडिसिटीले प्रवद्र्धन अभियानको थालनी गरेको छ ।

बंगलादेश स्थित नेपाली राजदुतावासको सहयोगमा नेपाललाई उपचारको राम्रो गन्तव्यको रुपमा पहिचान गराउन ढाकामा एक अन्तरक्रिया कार्यक्रम मार्फत बंगलादेशीहरुलाई नेपालमा उपचारको लागि आउन आव्हान गरिएको छ ।

बंगलादेशका उद्योगपति, पर्यटन व्यवसायी, चिकित्सक, पत्रकारहरुसंगको अन्तरक्रियामा नेपाल मेडिसिटीका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयरामले नेपालको हावापानी, रहनसहन, संस्कृति र आतिथ्यको साथमा विश्वस्तरको अस्पतालको सुविधा लिन बंगलादेशीहरुलाई नेपाल सहज गन्तव्य हुने जनाउनु भयो ।

भारत लगायतका अन्य देशहरु भन्दा धेरै कम शुल्कमा विश्वस्तरीय सुविधा प्राप्त गर्न सकिने र ढाकाबाट काठमाडौ पुग्न करिब डेढ घण्टा मात्र लाग्ने भएकोले छिटो, छरितो र सुलभ उपचारका लागि बंगलादेशीहरुलाई नेपालले आकर्षित गर्ने जयरामले जनाउनु भयो ।

बंगलादेशका लागि नेपालका राजदुत महामहिम प्रा.डा. चोपलाल भुसालले नेपालले पर्यटनका अलावा सेवा क्षेत्रलाई पनि प्रमुखताका साथ प्रवद्र्धन गर्न सक्ने बताउदै स्वास्थ्य उपचारका क्षेत्रमा नेपालले धेरै राम्रो काम गरेको जनाउनु भयो ।

विशेष गरी आंखा उपचारमा भारत, बंगलादेश लगायतका देशहरुबाट धेरै संख्यामा नेपाल जाने गरेकोमा अब विश्वस्तरको भरपर्दो सेवाका लागि नेपालले आफूलाई विश्वसामु प्रस्तुत गरेको जनाउनु भयो ।

नेपाली राजदुतावास, बंगलादेशका डेपुटी चीफ अफ मिशन धन बहादुर ओलीले धेरै बंगलादेशीहरु उपचारका लागि भारत गईरहेको सन्दर्भमा उनीहरुलाई उपचारका लागि नेपाल तर्फ आकर्षित गर्न आफूहरुले सहयोग गर्ने जनाउनु भयो । बंगलादेशीहरुलाई भिजा सहजताका कारणले नेपालमा उपचार गर्न जान सजिलो हुने उहांले जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here