काठमाडौं/ नेपालले आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’को चौथो खेलमा मङ्गलबार भुटानलाई फराकिलो अन्तरले जीत हाता पार्न सफल भएको छ । नेपालले भुटानलाई ११७ रनले पराजीत गरेको हो । नेपालले प्रस्तुत गरेको १५१ रनको लक्ष्य पछ्याउने क्रममा भुटान मात्र १६.४ ओभरमा ३३ रनमा सिमित बनेको छ ।
भुटानका ४ खेलाडी शुन्य रनमा आउट भए भने एक मात्र खेलाडीले दोहोरो अंकमा रन जोड्न सके ।
नेपालका लागि सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । यसअघि भुटानले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको थियो ।
पहिलो ब्याटिङ गरेको नेपालले ओपनर वसन्त भण्डारीलाई शुन्य रनमा गुमाए पनि अर्का ओपनर प्रदीप ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट रहेर ७५ रन बनाए । उनले मात्र ६८ बल ६ चौका र २ छक्का हिर्काए ।
उनलाई अनिल कुमार साहले २७ रन बनाउँदै राम्रो साथ दिए । त्यस्तै, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले क्रमशः १३ र १५ रन बनाए । करण केसी ११ रनमा नटआउट रहे ।
यसअघिका तीन खेलमा लगातार जित निकालेको छ । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिने छन् ।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् । दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।
नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी तथा वैकल्पिक खेलाडीमा सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ र सागर पुन रहेका छन् ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगत टमाटा, फिजियोमा दिनेश भट्ट, व्यवस्थापकमा रमन शिवाकोटी हुनुहुन्छ । छनोट प्रतियोगिताअन्तर्गत नेपालले अब २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।


















