चुनाव घोषणा नहुँदै वामदेवलाई हराउने योजना

269

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतम काठमाडौ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभाको उपचुनावमा उठ्ने निश्चित भएसँगै उनलाई हराउन पार्टी भित्रैबाटै योजना सुरु गरिएको थाहा भएको छ । काठमाडौ ७ का सांसद रामवीर मानन्धरले नेता गौतमका लागि राजीनामा दिने घोषणा गरेसँगै गौतमलाई हराउनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्ष कम्मर कसेर लागेका संकेतहरू प्रारम्भमै देखिन थालेका छन् । सरकारको कार्यशैलीका कारण यसै पनि अहिले नेकपा अलोकप्रिय बनिरहेको अवस्था छ । यस्तो अवस्थामा पार्टीको तर्फबाट चुनावमा जान तयार हुनु स्वयं वामदेव गौतमका लागि चुनौतीको विषय हो । प्रतिकूल समय रहेको र त्यसको फाइदा उठाउँदै पार्टीभित्रैबाट वामदेवलाई हराउनका लागि उच्च तहका नेताहरू नै सक्रिय रूपमा लाग्न थालेको नेकपा स्रोतले दाबी गरेको छ । गत प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित भएका गौतमले आफूमाथि पार्टी भित्रैबाट अन्तरघात भएको भन्दै छानविन समिति समेत गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदनलाई हालसम्म सार्वजनिक गरिएको छैन ।

काठमाडौं–७ मा गौतमलाई चुनावमा अघि सार्ने तयारी हुनुअघि डोल्पा र बाँकेलगायतका ठाउँबाट पनि वातावरण बनाउने उनको प्रयासमा अध्यक्ष केपी ओली नै बाधक बनेका थिए । डोल्पाका सांसद एवं राज्य मन्त्री धनबहादुर बुढाले गौतमका लागि पद छाड्ने घोषणा गरे पनि अध्यक्ष ओलीकै दबाबमा पछि बुढाले राजीनामा दिन अस्वीकार गरेका थिए । काठमाडौ ७ मा पनि ओली पक्षले वामदेव गौतमलाई रोक्न प्रयास गरेका थिए । नेकपाको सोमबार बसेको बैठकमा मानन्धरले ठाउँ खाली गरिदिन तयार रहेको पत्र अर्का अध्यक्ष पुष्पकमल दाहालमार्फत् पेस गरेका थिए । ओलीले भने तत्काल निर्णय नगरी मानन्धरसँगै आफै कुरा गर्ने भन्दै प्रस्तावलाई छलफलमै ल्याउन दिएका थिएनन् ।

वामदेवलाई काठमाडौं ७ बाट उठाउने प्रस्ताव विरुद्ध पार्टीका अर्का सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि पार्टीको बैठकमा विपक्षमा उभिएका थिए । ओली र पोखरेलले प्रस्तावमा छलफल गर्न इच्छा नदेखाएपछि बुधबार बस्ने बैठकमा उक्त विषयमा छलफल गर्ने भनिएको थियो । तर, नेकपाले बुधबार बस्ने बैठकलाई शनिबारका लागि सारेको छ । सचिवालयको बैठक पछि सार्नुका पछाडी पनि वामदेवको प्रस्तावलाई असफल तुल्याउने योजना रहेको बुझिन्छ ।

 

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, ईश्वर पोखरेल र दोस्रो तहका कतिपय नेताहरू समेत वामदेवलाई संसदमा ल्याउन नदिने पक्षमा रहेका छन् । वर्तमान सरकारले दुईतिहाइ बहुमत हुँदा समेत जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोपकाबीच वामदेवले संसदमा जाने इच्छा व्यक्त गर्नुलाई ओली पक्षले ओलीको विकल्पका रूपमा बुझेकाले पनि संस्थापन पक्ष कुनै पनि हालतमा वामदेवलाई सांसद हुन नदिने योजनामा लागेको बुझ्न कठिन छैन । प्रधानमन्त्री ओलीको काम सन्तोषजनक नभएपछि सरकारको विकल्प खोज्दा पार्टीभित्रबाट अध्यक्ष दाहाल वा वामदेव गौतम सम्भावित उम्मेदवार हुन् । अध्यक्ष दाहालले आफू प्रधानमन्त्री बन्न नसकेको अवस्थामा ओलीको विकल्पमा गौतमलाई अघि सार्न सक्ने ओली पक्षको ठम्याइ छ । त्यसैले पनि ओलीपक्षले वामदेवलाई संसदमा प्रवेश हुनबाट रोक्न खोजिरहेको छ । पार्टीका महत्वपूर्ण भूमिकामा रहेका विशेष गरी संस्थापनसँग नजिक रहेका नेताहरूले वामदेवका विरुद्ध वाक युद्ध सुरु गरिसकेका छन् । परिस्थिति नेकपाको अनुकूल नभएका बेला एउटापक्ष भने जसरी पनि वामदेवलाई निर्वाचनमा सहभागी गराएर पराजित गराउने र उनको राजनीतिक भविष्यलाई कमजोर बनाउने पक्षमा देखिन्छ । त्यसमा नेकपाका अध्यक्ष दाहाल तथा अन्य कतिपय नेताले वामदेवलाई निर्वाचनमा सहभागी हुन उक्साइरहेका छन् ।

दाहालको स्वार्थका लागि निर्वाचनमा जाँदा बाँकी राजनीतिक जीवनमा समेत धक्का लाग्ने विषयमा भने वामदेव सचेत नभएको देखिन्छ । एकातर्फ सरकारले काम गर्न नसक्दा प्रतिकुल परिस्थिति बनिरहेको छ भने अर्काेतर्फ पार्टी र सरकारकै महत्वपूर्ण जिम्मेवारी सम्हालेका मन्त्रीसमेत वामदेवको विपक्षमा देखिन्छन् । यस्तो अवस्थामा पनि वामदेवले उपनिर्वाचनमा सहभागिता जनाउन तत्परता देखाउनुले भने उनी कसैको चक्रब्यूमा फसेर आफ्नै राजनीतिक जीवनलाई कमजोर बनाउन खोजेको भान हुन्छ । राजनीतिमा लामो अनुभव संगालेका गौतमको गलत समयमा निर्वाचन लड्ने चाहनाले भने उनैलाई असर पर्ने विश्लेषण विश्लेषकहरूबीच भइरहेको छ ।

जनधारणा साप्ताहिक

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here