काठमाडौं । नेपाली काँग्रेस भित्रको द्वन्द्व अझै साम्य भएको छैन् । सभापति शेरबहादुर देउवा पार्टीभित्रकै आन्तरिक विवादमा फसेका छन् । उनले विरोधी पक्षलाई विश्वासमा लिएर काम गर्न सकेका छैनन् । उनका हरेक निर्णय आलोचित भइरहेका छन् ।
देउवा विरोधी भनेर चिनिएको रामचन्द्र पौडेल बलियो बन्दै गइरहेको देख्रिन्छ । सरकारका गलत कामहरुको विरोध गरेर जनतामा पार्टीलाई लोकप्रिय बनाउनु पर्ने बेलामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा प्रस्तुत हुन सकिरहेको छैन । प्रतिपक्षसँग यतिबेला अनगिन्ती राष्ट्रिय मुद्दा छन् । तर कांग्रेस बेखवर जस्तो भइरहेको छ । यसले गर्दा काँग्रेसको अवस्था झनै नाजुक बनिरहेको देखिन्छ ।
दसैंको मुखमा महँगीले जनता आक्रान्त छन् । हत्या–हिंसाका घटना कम भएका छैनन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका दोषीलाई अझै कानुनी दायरामा ल्याइएको छैन । शान्ति–सुरक्षाको स्थिति कमजोर बन्दै गएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना राजनीतिक दाउपेचले अनिश्चित बनेको छ । वाइडबडी जहाज खरिद अनियमितता प्रकरण छताछुल्ल छ । राजधानी धुलाम्य छ ।
राजधानीकै सडक बन्न सकेका छैनन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र सुदूरपश्चिमको राजधानीको नामाकरण मुद्दा पेचिलो बन्दै गएको छ। यी सबै सवालमा सरकारको काम प्रभावकारी बनिरहेको छैन । जनतामा असन्तुष्टी र निराशा व्याप्त छ । तर, यी सबै मुद्दामा प्रतिपक्षी कांग्रेसको भूमिका देखिँदैन ।
















