काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला प्रचण्डविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका छन् । उनले तराई क्षेत्रमा प्रचण्डले गरेको भाषणको सन्दर्भ उल्लेख गर्दै प्रचण्डको विरोध मात्र गरेनन्, सरकारले जनचाहना अनुसार काम गर्न नसकेको आरोपसमेत लगाएका छन् । नेता कोइरालाले जनताले खोजेको सुशासन, भ्रष्टाचारको अन्त्य, दण्डहीनताको अन्त्य, महङ्गी नियन्त्रण जस्ता काम सरकारले गर्न सकेन । सरकार कहाँ किन अलमलिन थाल्यो थाहा छैन भन्दै आक्रोश पोखेका छन् ।
सरकारले संघीयताको मर्मअनुसार पनि काम गर्न नसकेको कोइरालाले आरोप लगाएका छन् । प्रदेश नम्बर २ को सरकार र केन्द्र सरकारबीचको द्वन्द हुनु दुःखद भएको भन्दै उनले प्रधानमन्त्री केपी ओलीले उचित समन्वय गर्न नसकेको आरोप लगाएका छन् । २ नम्बर प्रदेश र केन्द्र सरकारबीच वाकयुद्ध चलिरहेको छ । यो कुरामा प्रधानमन्त्री के कारणले उदासिन हुनुहुन्छ ? बुझ्न सकिएको छैन कोइरालाले भनेका छन् ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ को सरकारलाई ओभरटेक नगर्न दिएको चेतावनी अधिकारबाहिरको कुरा भएको भन्दै कोइरालाले आक्रोश व्यक्त गरेका छन् । दाहाललाई बोल्ने अधिकार छैन । उहाँ सरकारमा हुनुहुन्न । अर्को कुरा पार्टीको अध्यक्षले त्यसरी बोल्ने होइन । यो सबै केन्द्र सरकारले मिलाउनुपर्छ । दाहालले यसरी वाहियात कुरा गर्न मिल्दैन, कोइरालाले आक्रोशित हुँदै भन्नुभएको छ ।
कम्युनिष्ट सरकारले संघीयता नै नचाहेकाले यो अवस्था आएको कोइरालाको जिकिर छ । अरु प्रदेशका मुख्यमन्त्री पनि समस्या रहेको तर नेकपाबाट चुनिएका सांसदहरू मुख्यमन्त्री भएकाले मुख खोल्न नसकेको उनको तर्क छ । केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार र कर्मचारी दिन नसकेकाले अहिलेको समस्या आएको कोइरालाको तर्क छ । यस्तै अवस्था रहिरह्यो भने संघीयता असफल हुने चेतावनी पनि कोइरालाले दिनुभएको छ ।
आफ्नै पार्टीभित्रको सन्दर्भमा बोलदै कोइरालाले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका केही गल्तीका कारण चुनावमा पराजित हुनुपरेको विश्लेषण पनि गर्नुभएको छ । सभापतिलाई अधिकार दिने नाममा निरंकुश बन्न दिन नहुने कोइरालाको तर्क रहेको छ । देउवाप्रति पनि आक्रोशित देखिएका कोइरालाले पार्टीलाई उचित तरिकाले सञ्चालन गर्न नसकेको आरोप लगाउनुभएको छ ।


















