कम्युनिष्ट नेता पूर्वराजासँग टिका थाप्न किन पुगे ?

266

काठमाडौं / पञ्चायतकालमा पुष्पलालका सहयात्री ओमराज कोइराला नेपाल कम्युनिष्ट पार्टीका पूर्व केन्द्रीय सदस्यसमेत हुन् । कोइरालाले यसपटकको दशैंमा पूर्वराजा ज्ञानेन्द्रसँग दशैंटिका लगाएका छन् । रौतहट निवासी कोइरालाले पूर्वराजाबाट टिका लगाउन किन इच्छा जाग्यो भन्ने बारेमा लामो विववरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको विवरण यसप्रकार छ :–

मेरो पृष्ठभूमि कम्‍युनिष्ट पार्टीको । बहुदल आएपछि २०४८ सालमा असार ६ गते कम्‍युनिस्ट दलहरू एक ठाउँमा आई नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्सवादी लेनिनवादी नेकपा एमाले) बनेपछि म पार्टीबाट अलग भएँ ।
भूमिगतकालमा म पुष्पलालसँग नजिक थिएँ र उहाँकै पार्टीमा थिएँ । मैले अन्तिमपल्ट उहाँको मृत्‍युभन्‍दा करीब दुई महिना पहिला भेटेको थिएँ । एकपल्ट मैले उहाँलाई सोधेको थिएँ– यदि हाम्रो लक्ष्‍य र उद्देश्‍य प्रजातन्त्र प्राप्ति हो भने किन हामी अमेरिकालाई साम्राज्यवादी भनिरहन्छौ ?

उहाँले भन्‍नुभयो, यो महत्‍वपूर्ण प्रश्‍न हो, पार्टीमा छलफलमा राख्‍नुपर्छ । उहाँको निधन भयो । कम्‍युनिस्टहरूको विलयले राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र प्रजातन्त्र सुदृढ हुने मलाई लागेन । मैले पार्टी छाडेँ ।’
मेरो स्थायी निवास रौतहट हो । तर यस पल्टको दसैँमा म काठमाडौंमा थिएँ । विजया दशमीमा टीका लगाउन मन लाग्‍यो । राष्ट्रपति वा गणतन्त्र नेपालको राष्ट्रप्रमुखबाट राष्ट्रिय गरिमा र राष्ट्रिय स्वाधीनता प्रवर्द्धन भएको लागेन । म निर्मल निवासतिर लागेँ । पूर्व राजा ज्ञानेन्द्र र पूर्वरानी कोमलको हातबाट टीका थापेँ । लामो लाइन थियो त्‍यहाँ टीकाका लागि । विभिन्‍न क्षेत्र, जनजाति र भेषभूषामा त्‍यहाँ नेपालीहरू एकत्र थिए । साँच्‍चै नै राजसंस्थालाई राष्ट्रिय एकताको प्रतीक र अभिभावक मान्‍नेहरूको प्रतिनिधि भीड थियो त्‍यो ।

१२ बुँदेमा ल्‍याप्चे लगाएर हाम्रा नेताहरूले राजालाई र राजसंस्था हटाउन अनि नेपालको आन्तरिक राजनीति सञ्‍चालनमा भारत र बाहिरी शक्तिलाई निम्त्‍याए । सार्वभौम हैसियतलाई अवमूल्‍यन गरेर प्रजातन्त्र सुदृढ हुन सक्‍दैन । कम्‍युनिष्ट र कांग्रेसी नेताहरूले यो मौलिक कुरा बुझ्‍न सकेनन् । नेपालको स्वतन्त्र जनताको सामूहिक आत्‍मनिर्णयको अधिकार पुर्नस्थापित नहुँदासम्‍म यहाँ प्रजातन्त्र सही अर्थमा स्थापित हुन सक्‍दैन । राष्ट्रियता कमजोर हुँदै जान्छ ।
०४८ सालमा कम्युनिष्ट पार्टी छोड्दा जुन आशंका थियो मेरो मनमा, ०६२/६३ र १२ बुँदेसम्‍म आइपुग्दा त्‍यो झन स्पष्ट भयो । पुष्टि भयो ।

राष्ट्रियता कमजोर पार्नकै लागि राष्ट्रिय एकताका प्रतिकात्मक संस्था र मान्‍यतालाई ०६३ पछिका शासकहरूले कमजोर बनाए । पृथ्‍वी नारायण शाह मुलुकको एकीकरण प्रतिको सम्‍मानस्वरूप मनाइँदै आएको ‘राष्ट्रिय एकता दिवस’ समाप्त पारिनु र राजसंस्था हटाइनु एउटै वृहत षडयन्त्रको पाटो थियो । त्‍यो १२ बुँदेमा लुकेको षडयन्त्र थियो ।
नेपाल सुन्दर, शान्त र विशाल बन्‍न उसले स्थायित्व, समृद्धि र प्रजातन्त्रको सुदृढीकरण हासिल गर्न राजसंस्था र प्रजातान्त्रिक दलहरू एक ठाउँमा आउनैपर्छ ।

अहिले दुई कोरियाको एकीकरणको सम्भावना बढेको छ । त्‍यस्तै अमेरिका, चीन र रुसले चाहेमा विश्‍व शान्ति स्थापित हुने पक्‍का छ । त्‍यस्तै नेपालमा स्थायित्व र उनको सार्वभौम हैसियत तथा प्रजातन्त्रको सुदृढीकरणका लागि यहाँ राजसंस्था र दलहरू मेलमिलाप, राष्ट्रिय सहमति र सहकार्यमा जानै पर्छ ।

म कम्युनिष्ट पृष्ठभूमिको व्‍यक्ति, टीकाका लागि शीतल निवास जान मन लागेन चाहिन र म ऐतिहासिक राजसंस्थाको प्रतिनिधि कहाँ गएँ । मलाई थाहा छ, मैले आम नेपालीको चाहना मान्‍यतालाई प्रतिनिधित्व गरेको छु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here