चीनले नेपाली सेनालाई अढाई अर्ब बराबरको सहायता गर्ने

337

चीनले नेपाली सेनालाई साढे दुई अर्ब बराबरको सहयोग गर्ने भएको छ । चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेल र चीनका  रक्षा मन्त्री वेइ फेङकाबीचमा शनिबार साढे दुई अर्ब नेपाली रुपैयाँ बराबर ( १५ करोड युयान) को सहायता उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उपप्रधानमन्त्री पोखरेल चीनका रक्षा मन्त्री फेङको निमन्त्रणामा चीनमा आयोजना भएको आठौँ सियाङसान फोरममा भागलिन गत मंगलबार चीनतर्फ गएका थिए ।
चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री पोखरेललाई आफ्नो कार्यालयमा स्वागत गर्दै चीनका रक्षा मन्त्रीले नेपाल र चीन असल छिमेकी मुलुक हुनुका साथै दुई देश बीच शदीयौँ पूर्वदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रही आएको चर्चा गरेका थिए । रक्षा मन्त्री फेङले समान संस्कृति र सभ्यता बोकेका नेपाल र चीनबीच परापूर्व कालदेखि घनिष्ट सम्बन्ध रही आएकोमा हालका दिनमा उच्च राजनीतिक भ्रमणले दुई देशबीच विश्वास र सद्¬भावन अभिवृद्धि गर्न तथा आपसी सहयोगका क्षेत्रलाई थप फराकिलो बनाउन सहयोग पुर्¬याएको विचार व्यक्त गरेका थिए ।
भेटवार्ताका क्रममा पोखरेलले नेपाल चीनबीचको सम्बन्ध पञ्चशील¸ शान्तिपूर्ण सहअस्तित्व¸पारस्परिक सम्मान र एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपालले चीनसितको सम्बन्धलाई उच्च महत्वका साथ अघि बढाउन चाहेको बताएका थिए ।

चीनका केन्द्रीय सैनिक आयोग महामहिम सु छियालिङ्ग तथा रक्षा मन्त्री जनरल वेइ फेङ्ले नेपालको आर्थिक सामाजिक तथा सैन्य क्षेत्रको विकासका लागि आवश्यक सहयोग उपलब्ध गराउन चीन सरकार सदैव सकारात्मक रहेको र आगामी दिनमा रेल मार्ग लगायतका पूर्वाधारहरू निर्माण गर्न चीनको तर्फबाट सक्दो सहयोग उपलब्ध हुने विश्वास दिलाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here