हाम्रो पार्टी, पशुपतिजीको पार्टी र राप्रपा असन्तुष्ट समूहबीच एक साताभित्र एकता हुन्छ : अध्यक्ष डा. लोहनी

127

काठमाडौं / एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने स्पष्ट पारेका छन् । उनले भने,‘हामीबीच एकताको छलफल चलिरहेको छ ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष लोहनीले तीनवटै राप्रपाबीच एकता भयो भने ठूलो शक्ति हुने दाबी गरे । उनले भने,‘तीनवटै राप्रपाबीच एकताको प्रयास भएको हो । तर, फ्रेमवर्क डकुमेन्ट बनाउन उहाँहरु मान्नुभएन् । त्यही भएर एकता भएन् । तर, हामी र पशुपतिजीबीच छलफल भैरहेको छ । कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट साथीहरुपनि हामीसँग निरन्तर छलफलमा हुनुहुन्छ । सम्भवतः अब एक साताभित्र एकता हुन्छ ।’

 उनले कमल थापा नेतृत्वको राप्रपासँगपनि एकताको लागि आफूहरु खुल्ला रहेको सुनाए । उनले भने,‘राप्रपाका असन्तुष्ट साथीहरुसँगपनि हाम्रो लगातार छलफल भएको छ । हामी सकेसम्म चाँडै एकता गर्छौं ।’

डा. लोहनीले काठमाडौंमा आज सम्पन्न हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ को कार्डमा नेपाल सरकारको लोगो रहेको भन्दै आपत्ति जनाए । त्यस्तै उनले यो कार्यक्रमको तामझामको लागि कमसेकम दुई करोड खर्च सरकारले गरेको आरोप लगाए ।

उनले भने,‘डेलिगेट्स ल्याउने खर्च आयोजक संस्थाले नै गरेको छ । तर, यसको तामझामको लागि नेपाल सरकारले ठूलो खर्च गरेको छ ।’ सरकारले यो विवादित संस्थासँग सहकार्य गर्नुको कारण के हो भन्दै उनले प्रश्नसमेत तेर्साए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here