काठमाडौं / भर्खरै काठमाडौंमा सम्पन्न ‘विवादित’ एसिया प्यासिफिक समिटमा आम नेपालीलाई क्रिश्चियन धर्मप्रति आकर्षित एवंं बाध्य पार्नेगरी गतिविधि गरेको र त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुलेर समर्थन तथा सहभागी भएपछि देशभर असन्तुष्टि बढेको छ ।
यसैबेला हिन्दु धर्मका प्रचारक र समर्थक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कम्युनिस्ट सरकारको कार्यशैली गलत रहेकाले नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको जनाउँदै सरकारको संरक्षणमा नेपालमा गैरसरकारी संस्थाका नाममा धर्म प्रचारको काम भइरहेको प्रति आक्रोश पोखे ।
थापाले अपराध नियन्त्रण गर्न, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न सरकार असफल भएको दाबी गरे । ‘धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा सहभागी भई पुरस्कार लिनु आपत्तिजनक छ,’ उनले भने, ‘यस्तो कार्यले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा गम्भीर धक्का लागेको छ ।’ केपी शर्मा ओली नेतृत्वको सरकारका कारण देशलाई ठूलो घाटा पुगेको जनाएका छन् ।
दुईतिहाईको सरकारले शान्ति, अमन चयन गर्ने जनताको चहानामा तुसारापात भई सकेको दाबी गर्दै वर्तमान सरकार पूर्णरुपले असफल भएको जनाए । सरकारले शान्ति, समृद्धि र स्थायित्व कायम गर्न नसकेको जनाउँदै उनले सरकारले चार महिना अघि बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तको अपराधीलाई संरक्षण गरेको लगाए ।


















