काठमाडौं / निर्मला बलात्कार हत्या प्रकरणमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सोधपुछमा खटिएका छन् ।
हत्या गरेको आशंकामा काठमाडौंमा पक्राउ परेका निर्मलाका छिमेकी प्रदीप रावलमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोतले जनाएको छ ।
बुधबार राति प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) नै पुगेर प्रहरीका महानिरीक्षक खनालले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा पक्राउ परेका रावलसंग बुधबार साँझ अाफैँले वयान लिएका हुन ।
केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यससम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरमा समातिएको प्रहरी स्रोतले जनाएको छ ।
उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै, अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ । तर, डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।


















