सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ : रायमाझी

117

काठमाडौं / सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले अब बस्ने स्थायी समिति बैठकमा सरकारको बारेमा निर्मम समिक्षा हुने स्पष्ट पारेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रायमाझीले पार्टीको अब बस्ने स्थायी समिति बैठकमा पार्टी निर्माण, संगठन विस्तार र सरकार सञ्चालनको विषयमा छलफल तथा समिक्षा हुने जनाएका हुन् ।

उनले भने,‘हामी पार्टी एकतालाई पूर्णता दिने पक्षमा छौं । सरकार गठन भएको पनि ९ महिना पूरा भैसकेको छ । यो बीचमा सरकारले हासिल गरेको उपलब्धिहरु र कमिकमजोरीहरुबारे छलफल र समिक्षा दुवै हुन्छ ।’

पछिल्लो समय सरकारले आफ्नो कामकारबाहीको गतिलाई बढाएको रायमाझीको विश्वास छ । उनले भने,‘तीन महिना अघि र अहिलेको सरकारको गति हेर्दा अहिले गियर बढाएको छ । सरकारले अहिले पिक–अप लिएको छ । म अहिले सरकारको काम गराईबाट खुशी छु ।’

पहिलेको तुलनामा सरकारले धेरै राम्रो काम गरेको उनले जिकिर गरे । पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रायमाझीले थपे,‘बाटा घाटाहरु बनेका छन् । काठमाडौं उपत्यकामा धुलो धुँवा कम भएको छ । खाल्डाखुल्डीहरु पुरिएको छन् । कलंकी–नागढुंगा सडक धेरै राम्रो बनेको छ । रिङ रोडहरु धमाधम बनिरहेका छन् ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री महेन्द्र यादवले कांग्रेसको इतिहासमा शेरबहादुर देउवाजस्तो उदारवादी सभापति अहिलेसम्म कोहीपनि नभएको जिकिर गरेका छन् । उनले भने,‘उहाँजस्तो लिवरल सभापति कांग्रेसको ईतिहाँसमै कोही पनि छैन् । उहाँले अरु नेतासँग सरसल्लाह नगरी कुनैपनि निर्णय लिनुहुँदैन् । विधानले सभापतिलाई दिएको अधिकार प्रयोगपनि उहाँले गर्नुभएको छैन।’

फरक प्रसँगमा उनले वर्तमान सरकार आँफै धर्म प्रचारमा लागेको आरोप लगाए । उनले भने,‘सरकार धर्मको प्रचारमा मात्रै होईन, कमाउ धन्धामा पनि लागेको छ । अहिले त ठेक्कापट्टामापनि लागिसक्यो ।’

सरकार गठन भएको एक वर्ष भैसक्यो तर केन्द्र सरकारको कमजोरीका कारण अहिलेसम्म प्रदेश सरकारले पाउनुपर्ने ऐन तथा कानुन नपाएको उनको गुनासो छ । उनले वर्तमान सरकार संघीयता नै समाप्त पार्ने डिजाईनमा लागेको पनि आरोप लगाए । यादवले भने,‘सरकार व्यापारमा लागिसक्यो । चीनमाजस्तो कम्युनिष्ट शासन व्यवस्था लाद्न खोज्दैछ । तर चीनमा त ७ जनाले शासन चलाउँछन् । हाम्रो नेपालमा त चार/पाँच जनाले नै शासन चलाउन खोजेका छन् । अहिले ५० अर्बको योजना सरकारले बिना प्रतिष्पर्धा दिने भनेको छ ।’

हालै काठमाडौंमा सम्पन्न भएको एशिया प्यासिफिक समिटको नाममा वर्तमान सरकारले क्रिश्चियन धर्मलाई प्रचार गर्ने काम गरेको पनि उनले आरोप लगाए । उनले भने,‘सरकारको यो कदमले हिन्दूहरु सशंकित भएका छन् । सरकारले संविधानलाई मिच्न खोजिरहेको छ । यसप्रति कांग्रेस गम्भिर बनेको छ । हामी चिन्तित छौं ।’

तर तपाईकै पार्टीका महामन्त्री शशांक कोइरालाले त हिन्दूराष्ट्रको माग गर्नुभएको छ नि भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘त्यो शशांकजीको व्यक्तिगत कुरा हो । पार्टीमा उहाँले नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर भन्न सक्नुहुन्न । ८४ प्रतिशत हिन्दूहरुको भएको देशमा हिन्दूराष्ट्रको आवश्यकत्ता नै छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here