काठमाडौं / काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रदूषण मापदण्डभन्दा कैयौं गुणा बढी पाइएको छ ।
आँखाले देख्न नसकिने यी साना धुलोका कण कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिन्छन्। क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पुर्याउने जानकारहरू जनाउछन् ।
वायु प्रदूषणले स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरेका स्वास्थ्य अनुसन्धान परिषदका डा। खेमबहादुर कार्कीका अनुसार सुक्खायाममा झनै २।५ माइक्रो मिटर र त्योभन्दा साना कण धेरै समयसम्म वायुमण्डलमा तैरिएर बस्ने गरेकाले बिहान र बेलुकीको समयमा हिँडडुल गर्नु घातक हुन्छ।
‘हिँडडुल गर्ने क्रममा पीएम २।५ व्यास र त्योभन्दा साना कण सिधै फोक्सोमा छिर्ने भएकाले चिसो याममा मर्निङ र इभिनिङ वाक नगर्नु राम्रो हुन्छ,’ कार्कीले भने, ‘मुटु र फोक्सोका रोगीलाई झन् घातक हुन्छ।’
वायु प्रदूषणको अवस्था थाहा पाउन काठमाडौंमा ७, पोखरामा २, नेपालगन्ज, भक्तपुर, दाङ, सुनसरी, सिमरा, लुम्बिनी र धुलिखेलमा गरी १९ वटा वायु गुणस्तर मापन केन्द्र राखिएको छ। तीमध्ये १४ वटा वन तथा वातावरण मन्त्रालय मातहतको वातावरण विभाग र अरू अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड० तथा अमेरिकी दूतावासको सहयोगमा सञ्चालन भएका छन्।
सबै मापन केन्द्रको आँकडा सरकारले तोकेको र डब्लूएचओको मापदण्डभन्दा बढी छ। जानकारहरू चिसोसँगै वायु प्रदूषण पनि बढदै जाने जनाउँछन्। चिसो याममा श्वासप्रश्वास, रूघाखोकी, दम तथा निमोनियाजस्ता रोगीको संख्या अस्पतालमा बढ्ने गरेको पाइन्छ।
६ महिनाअघि वातावरण विभाग तथा त्रिभुवन विश्वविद्यालयको नारेल प्रयोगशालाको सहकार्यमा विशेषज्ञ परिचालन गरी ‘काठमाडौं उपत्यका तथा लुम्बिनी क्षेत्रमा उत्सर्जित वायु प्रदूषण डिस्पर्सन मोडेलिङ एवं नियन्त्रण पद्धति विकास’ सम्बन्धी अनुसन्धान गरिएको थियो।
अनुसन्धानमा पहिलो पटक ड्रोन प्रयोग गरी काठमाडौं उपत्यकामा उत्सर्जित पीएम २.५ प्रदूषण जमिनबाट आकाशतिर फिँजिएर जाने प्रक्रिया मापन गरिएको छ। त्यसबाट साँझ घाम डुब्ने बेलादेखि बिहान झन्डै ९ बजेसम्म हावा नचल्ने यो अवधिमा उत्सर्जित प्रदूषण जमिनबाट २ सय मिटरमाथिसम्म पनि फिँजिन सक्दैन भन्ने पुष्टि भएको छ।
विश्व वातावरण दिवसका अवसरमा एक साता विभागले सडकमा सवारी साधनको प्रदूषण जाँचसमेत गरेको थियो। गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई सहभागी गराएर सुरु गरिएको उक्त अभियान एक साता पनि टिक्न सकेन।
वायुको गुणस्तरका हिसाबले नेपाललाई ३१.४४ स्तर दिइएको थियो भने भारतको ३०.५७ र बंगलादेशको २९.५६ । त्यस्ता अध्ययनले पनि वायु प्रदूषणलाई विश्वमै प्रमुख वातावरणीय स्वास्थ्यको खतराको सूचकका रूपमा व्याख्या गर्ने गरेका छन्।
विगतमा गरिएका विभिन्न अध्ययनले पनि नेपाल (काठमाडौं) सहित भारत (नयाँदिल्ली) र बंगलादेश (ढाका) वायु प्रदूषणका हिसाबले अग्रस्थानमा रहेको देखाउने गरेका थिए । कान्तिपुर