भूपू गोर्खा सैनिकका समस्या प्रति सरकार गम्भीर

247

काठमाडौँ, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बोधन गर्न नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

समितिको सोमबार बसेको बैठकमा समिति सभापति पवित्रा निरौला (खरेल)ले भूपू ब्रिटिस गोर्खाका समस्या गम्भीर भएकाले तत्काल सम्बोधनका लागि परराष्ट्र र रक्षा मन्त्रालयसँग छलफल गर्ने बताइन । बैठकमा समिति सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भूपूब्रिटिस गोर्खाको सङ्घर्ष राष्ट्रियता, न्याय र समानताका लागि भएको बताउँदै यस सम्बन्धमा परराष्ट्र मन्त्रालयसँग छुट्टै छलफल गर्नुपर्ने बताए ।

समिति सदस्य एवं पूर्वरक्षामन्त्री भीमबहादुुर रावलले भूपूब्रिटिस गोर्खाका समस्या सम्बोधन गर्ने सम्बन्धमा नेपाल सरकारले विज्ञसहितको वार्ता टोली बनाएर तुरुन्त संयुक्त अधिराज्यसँग वार्ता गर्नुपर्ने सुझाव दिए । उनले भूपू ब्रिटिस गोर्खाका समस्या यथावत् रहेको अवस्थामा ब्रिटिस गोर्खा सैनिकमा नेपाली महिलाको भर्ती शुरुआत भएकोप्रति आपत्ति प्रकट गरे ।

बैठकमा समिति सदस्य सुजिता शाक्य, सुदन किराँती, दिव्यमणि राजभण्डारी, दीपकप्रकाश भट्ट, नारदमुनी राना, रेनुका गुरुङ, सरलाकुमारी यादव र बोधमाया कुमारी यादवले विगत २०० वर्षदेखि ब्रिटिस गोर्खामा कार्यरत नेपालीलाई बेलायतले शोषण गरिहेको भन्दै समस्या सम्बोधन गर्न नेपाल सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here