बनेपा / काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका– ४ लामीडाँडाका चाकु व्यापारीलाई हिजोआज चाकु बनाउन भ्याइ नभ्याइ भएको छ ।
माघेसङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा यसको माग बढी हुने भएकाले यतिखेर चाकु व्यवसायी निकै ब्यस्त रहेको देखिन्छ । विगत १५ वर्षदेखि सो व्यवसाय गर्दै आएका पाँचखाल नगरपालिका–४ लामीडाँडाका विष्णुपुकार श्रेष्ठले दैनिक १०० किलोदेखि १५० किलोसम्म चाकु बिक्री भइरहेको जनाउनुभयो ।
त्यसका लागि आवश्यकपर्ने कच्चपदार्थ (सख्खर) कृष्णनगरबाट ल्याउने गरेको र एक पटकमा ५०/६० बोरासम्म ल्याउने गरेको उहाँले जनाउनुभयो ।खासै पुस र मागमा बिक्री हुने गरेको चाकु बनाउने काम एक/दुई महीनासम्म चल्ने गरेको उहाँको भनाइ छ । काम गर्नेलाई दैनिक रु सात सयका दरले ज्याला दिने गरेको छ । आफ्नो पसलमा चार जनाले काम गरिरहेको श्रेष्ठले जनाउनुभयो ।
अरनिको राजमार्गको छेउमा पसल गरेर चाकु व्यवसाय सञ्चालन गर्दै आउनुभएका श्रेष्ठले बाहिर सडक छेउमा नै यात्रा गर्ने यात्रुलाई बिक्री गर्दै आउनुभएको छ । त्यस्तै चाकु खरिद गर्न सिन्धुपाल्चोक, दोलखा र रामेछापको मन्थलीसम्मका व्यापारी पसलमा आउने गरेको उहाँले जनाउनुभयो ।
पुस–माघको जाडो मौसममा शरीरलाई न्यानो राख्ने र शरीरलाई आवश्यकपर्ने पौष्टिक तत्व प्राप्त हुने भएकाले मानिसले चाकु सेवन गर्ने गर्दछन् ।


















