अमेरिकी राष्ट्रपतिको पत्र उत्तर कोरियाली नेता किमलाई

102

वासिङ्टन/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउनुभएको छ । उहाँले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाउनुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ । साथै यस विषयमा बिहीबार उत्तर कोरियाली सञ्चारमाध्यमहरुले पनि जानकारी गराएका छन् । यसअघि करिब हप्तादिन अघि उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पलाई पत्र पठाउनुभएको समाचार आएको थियो ।

उक्त पत्रको अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार जवाफ दिनुभएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ । ह्वाइट हाउसका प्रेस सचिव सराह स्यान्डसर््लाई उद्धृत गर्दै उक्त टिभीले जनाएको छ– राष्ट्रपति ट्रम्पले किमको पत्रको जवाफमा बुधबार उत्तर कोरियाली नेता किमलाई पत्र लेख्नुभएको छ । बिहीबार उत्तर कोरियाली सरकारी समाचार समिति, केसिएनएले उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र हात पार्नुभएको जनाएको छ । उक्त पत्र नेता किमलाई उत्तर कोरियाली सत्तारुढ दल, वर्कर्स् पार्टीका उपाध्यक्ष किम योङ चोलले दिनुभएको सो समाचारमा जनाइएको छ । चोल हालै अमेरिकाको भ्रमणमा जानुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति ट्रम्प र विदेशमन्त्री माइक पेम्पेओसँग भेटवार्ता पनि गर्नुभएको थियो ।

किमले उक्त पत्र प्राप्त गरेर सन्तुष्टि प्राप्त गरेको जानकारी पनि उत्तर कोरियाली समाचार समिति केसिएनएले जानकारी दिएको छ । उक्त समाचार समितिले समाचारमा भनेको छ– उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पको उक्त पत्र प्राप्त गरेपछि खुसी हुनुभएको छ, उहाँहरुबीच यो महिनामा कैयौँ पत्रहरु आदानप्रदान भएका छन् । गत शुक्रबार मात्र पनि उत्तर कोरियाली सत्तारुढ दलका उपाध्यक्ष चोलले अमेरिकी अमेरिकी राष्ट्रपति ट्रम्पलाई नेता किमका तर्फबाट पत्र हस्तान्तरण गर्नुभएको थियो ।

सोही पत्रको जवाफमा बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले नेता किमलाई यो पत्र प्रेषित गर्नुभएको कोरियाली सञ्चारले जनाएका छन् । उत्तर कोरियाली नोता किमले गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको बताइएको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । उत्तर कोरियाली नेता किमले सन् २०१९ को नयाँ वर्षको शुभकामनासम्बन्धी पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाउनुभएको थियो । सो पत्रपछि पुनःसम्बन्धमा नयाँपन आएको हो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेका थिए ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा गत वर्षबाट सुधार आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो ।
उक्त पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर बैठक हुने भनिएपनि अहिलेसम्म हुन सकिरहेको छैन । उक्त बैठक आगामी फेब्रुअरीको अन्त्यमा हुने भएको समाचार हालैमात्र आएको छ ।दोस्रो शिखर सम्मेलनको आतिथ्यता भियतनामले गर्ने इच्छा व्यक्त गरेको छ । तर यस विषयको अन्तिम टुंगो भने लागेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here