विरासतलाई अझ उचाइमा पुर्‍याउनु जिम्मेवारी : सन्दीप लामिछाने

4

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु आफ्नो जिम्मेवारी भएको जनाएका छन्।

शुक्रबार नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको राष्ट्रिय क्रिकेट टीमको बिदाइ कार्यक्रममा बोल्दै उनले टोलीको नेतृत्वमा परिवर्तन आए पनि आफूहरुको साझा लक्ष्य नेपाललाई जिताउनु रहेको जनाए ।

उनले भने, ‘नेतृत्वमा परिवर्तन आए पनि हाम्रो साझा लक्ष्य नेपाललाई जिताउनु नै हो। रोहित पौडेलले स्थापना गरेको विरासतलाई अझ उचाइमा पुर्‍याउनु मेरो जिम्मेवारी हो। टिमभित्रको एकता र विश्वास नै हाम्रो मुख्य शक्ति हो। हाम्रो मुख्य लक्ष्य भनेकै एसिसी प्रिमियर कपको उपाधि जितेर ट्रफी घर ल्याउनु हो।

नेपाललाई विश्वकै बलियो एसोसिएट राष्ट्रको रूपमा स्थापित गर्न हामीले घरेलु मैदानमा मात्र नभई विदेशी भूमिमा पनि सन्तुलित र उत्कृष्ट खेल प्रदर्शन गर्नु आवश्यक छ।’ उनले विगतका खेलहरूमा भएका कमजोरीलाई आत्मसात गर्दै आगामी दिनमा सुधारिएको प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले पछिल्ला केही वैदेशिक भ्रमणहरू अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै विपक्षीको राम्रो खेल र आफ्ना केही प्राविधिक त्रुटिका कारण नतिजा आफ्नो पक्षमा आउन नसकेको बताए। क्यानले केही दिनअघि रोहितलाई हटाएर सन्दीपलाई एकदिवसीय फर्म्याटको कप्तान बनाएको थियो। टी–२० फर्म्याटको कप्तान दीपेन्द्र सिंह ऐरी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here