एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आफ्नो प्रशासनले गरिरहेको वार्तामा ‘अड्चन’ उत्पन्न गरे सहयोगी राष्ट्र ओमानमाथि बमबारी गर्ने धम्की दिएका छन्।
अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै वार्ता गरिरहेका छन्। उनीहरूको मुख्य उद्देश्य ‘स्ट्रेट अफ हर्मुज’ पुनःखोल्नु भएको बताए। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्वपूर्ण यो जलमार्ग अमेरिका–इरान युद्धका कारण करिब ६ महिनादेखि प्राय बन्द छ।
फक्स न्युजका एक रिपोर्टरका अनुसार ट्रम्पले फोन अन्तर्वार्ताका क्रममा ओमानलाई धम्की दिँदा अपशब्दसमेत प्रयोग गरेका थिए। यसअघि सोमबार नै इरानी अधिकारीहरूले ओमानसँगको वार्ता सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। उता, अमेरिका र इरानबीच भएको ६० दिने समझदारीपत्र (एमओयु) को अवधि सकिन लागेकाले दुई देशबीचको वार्ता अब कसरी अघि बढ्छ भन्ने स्पष्ट छैन।
सोमबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्ने क्रममा एक पत्रकारले ट्रम्पलाई उक्त समझदारीपत्रको म्याद थप्ने प्रयास गरिरहनुभएको हो भनेर सोधेका थिए। ट्रम्पले जवाफ दिए, ‘होइन।’
अमेरिका र इजरायलले फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि तेहरानले स्ट्रेट अफ हर्मुजमा आवतजावत ठूलो मात्रामा रोक्दै आएको छ। विश्वमा व्यापार हुने कुल तेल र प्राकृतिक ग्यास मध्ये करिब पाँच भागको एक भाग यही जलमार्गबाट ओहोरदोहोर हुँदै आएको छ।
त्यसैले हर्मुज पुनःखोल्नु अमेरिका-इरान वार्ताको प्रमुख विषय बनेको छ। ओमान स्ट्रेट अफ हर्मुजको दक्षिणी किनारमा अवस्थित छ। उसले आफूलाई यो द्वन्द्वमा तटस्थ राष्ट्र बताउँदै आएको छ। तर इरानबाट भएका विभिन्न आक्रमणको सामना गरिसकेको ओमान अहिले तेहरानसँग जलमार्ग पुनःखोल्ने वार्तामा महत्वपूर्ण मध्यस्थको भूमिका खेलिरहेको छ।
अमेरिकाले पनि जलमार्ग खुलाउने आफ्नै प्रयास अघि बढाइरहेको छ। फक्स न्युजका रिपोर्टर ट्रे यिङ्स्टले ट्रम्पलाई उद्धृत गर्दै लेखेका छन्, ‘ओमान हाम्रो बाटोमा आयो भने हामी उसलाई नराम्रोसँग बमबारी गर्नेछौं।’ तर ट्रम्पले भन्नन खोजेको ‘बाधा’ के हो भन्ने बारे भन्ने स्पष्ट छैन्।
आईआरजीसीसँग गोप्य सम्पर्क रहेको ट्रम्पको दाबी
फक्स न्युजसँगको सोही अन्तर्वार्तामा ट्रम्पले अमेरिकाको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) सँग प्रत्यक्ष गोप्य सम्पर्क रहेको दाबीसमेत गरे। आईआरजीसी इरानको प्रमुख सैन्य, आर्थिक तथा राजनीतिक शक्तिमध्ये एक हो।
तर आईआरजीसीका प्रवक्ताले ट्रम्पको दाबी अस्वीकार गरेका छन्। अर्धसरकारी इरानी समाचार संस्था तस्निम न्युजसँग कुरा गर्दै प्रवक्ताले भने, ‘आईआरजीसीका अधिकारी र अमेरिकीहरूबीच कुनै वार्ता भइरहेको छैन।’ उनले ट्रम्पको दाबीलाई युद्धमा भएको पराजय र निराशाका कारण उत्पन्न भएको भ्रमको संज्ञा दिए।
हर्मुज हुँदै जहाज सञ्चालनबारे इरान–ओमान सहमति
ट्रम्पले ओमानलाई धम्की दिएको केही घण्टाअघि मात्रै इरानले स्ट्रेट अफ हर्मुज हुँदै जहाज आवतजावत गर्न दुई देशबीच सहमति भएको जनाएको थियो। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पत्रकारहरूसँग कुरा गर्दै ‘ट्रान्जिट मार्गको नक्साबारे समझदारी बनेको’ बताएका थिए। उनका अनुसार दुवै पक्षले संयुक्त वक्तव्य जारी गर्नुअघि बाँकी विवरणलाई अन्तिम रूप दिने छन्। ओमानले यसअघि पनि इरानसँगको वार्तालाई सकारात्मक भनेको थियो।
यसै महिनाको सुरुवातमा इरानी विदेशमन्त्री अब्बास अराघ्चीले भनेका थिए कि हर्मुज पूर्ण रूपमा खोल्नुअघि अमेरिकाले समझदारीपत्र उल्लंघन गरेको भन्दै त्यसको क्षतिपूर्ति दिनुपर्ने इरानको माग छ।
रोयटर्सले एक इरानी अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार तेहरानले स्ट्रेट अफ हर्मुज हुँदै जाने जहाजका मालसामानको मूल्यको ५ देखि ७ प्रतिशतसम्म शुल्क मागिरहेको छ।
युद्ध अन्त्य गर्न हतारमा छैनन् ट्रम्प
ट्रम्पले आईआरजीसीसँग प्रत्यक्ष गोप्य सम्पर्क रहेको दाबी गरे पनि युद्ध अन्त्य गर्न आफूलाई कुनै हतार नभएको बताएका छन्। फक्स न्युजसँगको फोन अन्तर्वार्तामा उनले इरानबारे भनेका थिए, ‘उनीहरू राम्रा पोकर खेलाडी हुन्, तर उनीहरू मरिरहेका छन्।’ उनले युद्ध अन्त्य गर्ने आफ्नो कुनै निश्चित समयसीमा नभएको र आफू हतारमा नरहेको बताएका छन्।
अमेरिका र इरानबीच १८ जुनमा हस्ताक्षर भएको समझदारीपत्र (एमओयु) को उद्देश्य युद्धविराम गराउनु र स्ट्रेट अफ हर्मुजलाई कम्तीमा आंशिक रूपमा पुनःखोल्नु थियो। तर केही समयमै दुवै पक्षले पुनः एकअर्कामाथि आक्रमण थालेपछि उक्त समझदारी विफल भयो।
जुलाई ८ मा ट्रम्पले युद्धविराम ‘सकिएको’ घोषणा गर्दै इरानी नेतृत्वमाथि कडा शब्दमा आलोचना गरेका थिए। त्यसपछि दुवै पक्षबीच पुनः आक्रमण र प्रत्याक्रमण भएका थिए।
सोमबार एमओयुको औपचारिक म्याद सकिनै लाग्दा ट्रम्पले आफ्नो ट्रुथ सोसल खातामा लेखेका थिए ‘पहिलो र सधैंको मुख्य लक्ष्य भनेको इरानसँग कुनै पनि अवस्थामा आणविक हतियार हुन नदिनु हो।’


















