दुईतिहाइ बहुमतको ओली सरकार धुर्मुस–सुन्तलीमा निर्भर

291

काठमाडौं / पहिलोपटक प्रधानमन्त्री बनेर चर्चाको शिखर चुमेका केपी शर्मा ओली दोस्रो पटक दुईतिहाइ बहुमतसहित प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि आफ्नो लोकप्रियता गुमाउँदै गएका छन् । प्रधानमन्त्री ओलीले एक वर्षको अवधिमा गुमाएको लोकप्रियताले यसलाई पुष्टि गर्छ । सञ्चारमाध्यमदेखि जनता र प्रतिपक्षी नेताहरूलाई समेत आफ्नो लोकप्रियताको प्रशंसक बनाउन सफल ओली किन विस्तारै अलोकप्रिय र कठोर बन्दै गइरहेका छन् त ? यस विषयमा प्रधानमन्त्री ओली आफैले समीक्षा गर्न आवश्यक रहेको शुभेच्छुक बुद्धिजीवीहरूको सुझाव रहेको पाइन्छ ।

कुनै पनि व्यक्ति, संघ वा संगठनको लोकप्रियता उसको कार्यशैली र व्यवहारले निर्धारण गर्छ । जब कुनै व्यक्ति वा संस्थाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनहितको वकालत गर्छ त्यसका लागि लोकप्रियता सामान्य बन्न जान्छ । प्रधानमन्त्री ओलीको हकमा पनि यो कुरा लागू हुन्छ । उनी जब पहिलो पटक प्रधानमन्त्री बने त्यतिबेला मुलुक भारतीय नाकाबन्दी र भूकम्पबाट थिल्थिलो बनेको थियो । अर्काेतर्फ ओलीलाई भारतप्रति नरम व्यवहार भएको व्यक्तिका रूपमा चिनिन्थ्यो । प्रधानमन्त्री ओलीप्रति रहेको आम धारणालाई गलत सावित गर्दै उनी भारतीय नाकाबन्दीको विरुद्धमा कडा ढंगले प्रस्तुत भए र आफ्नो अडान कायम राख्दै उत्तरी छिमेकी चीनसँगको सम्बन्धलाई जोड दिए । यतिमात्र होइन उनले आफू सत्तामा रहेका बेला जनताको आवाज बोलिरहे । नेपालको राजनीतिक इतिहासमा सत्तामै रहेर जनताको वकालत गर्ने शासक नेपाली जनताले भेटेका थिएनन्, ओलीले त्यो हैसियत बनाए र साथै उनले विकास र समृद्धिका क्षेत्रमा पनि ठूलो सपना बाँडे।

शासकबाट सधै शासितको व्यवहार मात्र भोगिरहेका नेपाली जनतासामु सत्तामै रहेका ओलीले जनताको पक्षमा बोलेपछि ओलीप्रति जनमत बन्नु स्वाभाविक पनि थियो । प्रधानमन्त्री ओलीबाट नेपालको विकास र समृद्धिमा नयाँ सम्भावना देखेपछि नेपाली जनताले प्रधानमन्त्री ओलीलाई दोस्रोपटक शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्तामा जाने बाटो प्रशस्त गरिदिए । तर शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्ताको बागडोर सम्हालेपछि भने ओलीको कार्यशैली परिवर्तन भएको छ । अहिले उनी नेपालका परम्परागत शासकभन्दा अझ कठोर भएर जनतामाझ प्रस्तुत हुन थालेका छन् । उनी नेतृत्वको सरकारले जनताले महसुस हुने गरी कुनै काम गर्न सकिरहेको छैन । भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै सुशासन कायम गर्छु भन्ने प्रधानमन्त्री ओलीले एक वर्षसम्म सुधारको कुनै संकेत देखाएका छैनन् । आज जनसाधारण कर वा विभिन्न बहानामा राज्यको तर्फबाट थप बाँधिने अवस्थामा पुगेका छन् । यसले प्रधानमन्त्रीप्रति जनताको विश्वास र उनले जनतामाझ कमाएको लोकप्रियता क्षीण हुँदै गइरहेको छ ।

नौ महिने सरकारका प्रधानमन्त्री ओली र पाँच वर्षे शक्तिशाली सरकारका प्रधानमन्त्री ओलीबीच किन यति धेरै भिन्नता देखियो ? काम गर्ने मानिस जहिले पनि जनताबाट सम्मानित भइरहेका छन् । कमजोर आर्थिक अवस्था भएका तथा भूकम्प पीडितका लागि एकीकृत वस्ती बनाउँदै अन्तर्राष्ट्रिय रंगशाला बनाउन जुटिरहेका कलाकार धुर्मस–सुन्तलीहरू आज पनि जनतामाझ लोकप्रिय नै छन् । काम गर्नेहरूलाई जनताले जहिले पनि सम्मान गरिरहेका छन् । एक जना वा दुई जना व्यक्तिले आँट गर्दा ठूला विकास निर्माणका काम हुनसक्छन् भने शक्तिशाली सरकारलाई यस्ता काम गरेर जनताको मनमा बस्न कसले रोकेको छ ?

प्रधानमन्त्री ओली अहिले कार्यकारी भूमिकामा छन् । राज्यसँग पर्याप्त आर्थिक स्रोत र साधन छैन भने उनले नागरिकसँग अपिल गरेर विकास निर्माणका काम अघि बढाउन सक्छन् । प्रशस्त जलस्रोतको भण्डार रहेको नेपालमा ठूला जलविद्युत आयोजना निर्माणमा जनताको धन लगानी गर्न सकिन्छ । एउटा निजी कम्पनीले साधारण सेयर जारी गर्दा त्यसमा लगानी गर्न जनता तछाडमछाड गर्छन् भने राज्यले नै आफू ग्यारेन्टीमा बसेर कुनै ठूला आयोजनामा लगानीको आह्वान गर्ने हो भने नेपाल भित्रैबाट धेरै ठूलो लगानी जुट्न सक्दछ । यस्ता सम्भावनातर्फ सरकारको ध्यान नपुग्नु दुर्भाग्यपूर्ण हो । व्यक्तिको हैसियत अनुसार लगानीका लागि आह्वान गर्ने हो भने नेपालसँग रहेका प्राकृतिक स्रोत र साधनको उत्पादन, उत्खनन् र सदुपयोगमा विदेशीको मुख ताक्नुपर्ने अवस्था रहने छैन । राज्य आफैसँग पनि ठूलो बजेट प्रयोग विहिन अवस्थामा देखिन्छ । यसको सही ठाउँमा सदुपयोग गर्न प्रधानमन्त्री ओलीलाई कसले रोकेको छ ? यदि राज्यलाई कुनै क्षेत्रको विकास वा लगानीका लागि कुनै समस्या छन् भने प्रधानमन्त्रीले जनतासमक्ष समस्याको कारणबारे भन्न सक्नुपर्छ ।

शक्तिशाली कार्यकारीको भूमिकामा हुँदा पनि प्रधानमन्त्री ओलीले व्यावहारिक पक्ष भन्दा आधारबिहीन भाषणबाजीमा मात्र ध्यान दिए भने उनले विगतमा प्राप्त गरेको लोकप्रियता र सकिन्छ नै उनी इतिहासमा एउटा खलनायकका रूपमा सीमित हुने निश्चित छ । -जनधारणाा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here