सिराहा / नेकपा अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताको पक्षमा संविधान संशोधनको पहल गरिरहेको जनाएका छन् ।
सिराहाको अर्नमा गाउँपालिका वडा नम्बर–१ महनौरमा निर्मित स्वास्थ्य चौकीको सोमबार उद्घाटन गर्दै उनले संविधानलाई मधेसी जनताको आवश्यकता अनुसार संशोधन गर्दै जाने जनाए ।
उनले मधेसको विकास निर्माणमा सरकारको ध्यान जनजालाकी भनेर शङ्का नगर्नसमेत आग्रह गरे । ‘मधेसमा पूर्वाधार निर्माणका प्याकेज अगाडि सारेका छौँ, तराई मधेसको निम्ति झन्डै तीन अर्ब रुपैयाँको विशेष व्यवस्था भइसकेको छ’ उनले भने ।
सिँचाई र खानेपानीको दीर्घकालीन ढङ्गले समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयमा कुरा राखेको प्रचण्डले जानकारी दिए । ‘अहिले भर्खरै उद्घाटन भएको स्वास्थ्यचौकीमा एमबीबीएस डाक्टरको व्यवस्था होस् भन्ने तपाईहरूको मागमा म सकारात्मक छु’ अध्यक्ष दाहालले भने, ‘डाक्टरसहितको आवश्यक जनशक्तिको लागि मेरो तर्फबाट तपाईहरूलाई सहयोग रहने छ ।’ मधेससँग आफ्नो गाढा सम्बन्ध रहेको जनाउँदै मधेसको विकासका लागि सरकार र पार्टी दुवै क्रियाशिल रहेको प्रष्ट पारे ।


















