शिक्षामा विज्ञान प्रविधि अनिवार्यः मन्त्री पोखरेल

162

काठमाडौ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा विज्ञान र प्रविधि भित्र्याउनु जरुरी रहेको बताएका छन् । गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा रहेको श्री महालक्ष्मी माविको ४३औँ वार्षिकोत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले शिक्षालाई विकास र समृद्धिसँग जोडेर अगाडि बढाउनु अहिलेको आवश्यकता रहेको भन्दै त्यसका लागि अबको शिक्षण सिकाइमा विज्ञान र प्रविधि अनिवार्य रहेको उल्लेख गरे ।

विसं २०२८ मा ल्याइएको शिक्षा नीतिले वर्तमान शैक्षिक आवश्यकतालाई परिपूर्ति गर्न नसक्ने भएकाले सरकारले नयाँ शिक्षा ऐन ल्याएर कार्यान्वयन गर्ने तयारी गरिरहेको उनले बताए ।

मन्त्री पोखरेलले नेपालको पुरानो शिक्षामा कामको संसार र शिक्षाको संसारको तालमेल नमिल्दा अहिलेको बेरोजगारीको अवस्था सृजना भएको भन्दै अबको शिक्षा रोजगारमूलक हुने बताए ।

उच्च शिक्षासँगै प्राविधिक शिक्षा सरकारको प्राथमिकतामा रहेको भन्दै उनले शिक्षक सेवा आयोगलाई पुनर्गठन गरेर सरकार अघि बढ्न लागेको बताए । सङ्घीय सरकार राष्ट्रिय परीक्षा बोर्डलाई नयाँ ढङ्गले व्यवस्थित गर्ने तयारीमा रहेको मन्त्री पोखरेलले जानकारी दिए । उनले अहिले पनि देशभरि ६० हजार बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क उल्लेख गर्दै सरकारले आउँदो शैक्षिक सत्रमा सबै बालबालिकालाई विद्यालय पठाउने वातावरण तयार पार्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here