काठमाडौं। भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच अहिले हैदराबाद हाउसमा अहिले भेटवार्ता भइरहेको छ। दुई पक्षीय छलफलमा हवाई रूटका विषयमा ब्रेक थ्रु हुने नेपाली पक्षले जनाएको छ।
भ्रमणमा सहभागी एक उच्चस्तरीय अधिकारीका अनुसार भैरहवास्थित गौतम बुद्ध विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रूट दिन भारत राजी देखिएको छ। यी रूट नेपालले पाउँदा अन्तर्राष्ट्रिय उड्डयन विस्तार गर्न नेपाललाई सहज हुनेछ।
त्यस्तै, कञ्चनपुरस्थित महेन्द्रनगरबाट ३९ हजार फिट माथि उड्ने गरी हवाई रूट दिन पनि भारतीय पक्ष राजी भएको छ।
नेपालले लामो समयदेखि माग्दै आएको जनकपुरतर्फको हवाई रूटका लागि पनि भारत सहमत देखिएको छ। यसअघिका प्रधानमन्त्रीहरूको भ्रमणमा यी विषय उठ्ने गरेको भए पनि भारतीय पक्षले आनाकानी गर्दै आएको थियो।
प्रधानमन्त्री बालेन शाहको भ्रमणका क्रममा अयोध्या र जनकपुरधाम जोड्ने रेल सेवा उद्घाटन हुँदैछ। भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री शाहले दुवै धार्मिक तथा सांस्कृतिक महत्वका सहर जोड्ने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गर्ने तयारी छ।
‘सरयू–कमला एक्सप्रेस’ नाम दिइएको रेल सेवाले भारतको अयोध्या र नेपालको जनकपुरधामलाई जोड्नेछ। भगवान् रामको जन्मस्थल मानिने अयोध्या र माता सीताको जन्मस्थल जनकपुरधाम जोड्ने यो सेवाले धार्मिक पर्यटन, तीर्थयात्रा र दुई देशका नागरिकबीचको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।
रेल सेवाले भारत र नेपालबीचको धार्मिक पर्यटन प्रवद्र्धन, जनस्तरको सम्बन्ध विस्तार तथा सीमापार आवागमनमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।
सीमा समस्या समाधानका लागि परराष्ट्र सचिवस्तरीय समिति बन्ने समझदारी हुन लागेको पनि नेपाली पक्षले जानकारी दिएको छ।















