त्रिभूवन विश्वविद्यालय विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै

223

 काठमाडौं / त्रिभूवन विश्वविद्यालयले परीक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनःपरीक्षा गराउने सूचना निकालेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको छ ।

२०७४ सालको बिबीएस तेस्रो वर्षको नतिजा प्रकाशन गर्दा सिन्धुली बहुमुखी क्याम्पसमा अध्ययनरत ६९ विद्यार्थीको उत्तरपुस्तिका नै हराएको भन्दै पुनःपरीक्षा दिनुपर्ने सूचना निकालेको हो ।

विद्यार्थीले पुनःपरीक्षा दिनुपर्ने सूचना निकालेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भनेर विरोध जनाए पनि पुनःपरीक्षा दिन बाध्य भए । पशुपति बहुमुखी क्याम्पसबाट स्नातक दोस्रो वर्षको नियमित परीक्षा दिएका सिन्धुपाल्चोकका गणेश दाहालको २०७४ मा परीक्षाफल प्रकाशित हुँदा चार विषयमा उतीर्ण र एउटा अनुपस्थित भनेर नतिजा आएपछि उनी छक्कै परे ।

नियमित पाँचवटै विषयको परीक्षा दिएका उनले एउटा विषयमा अनुपस्थित रहेको भन्ने जानकारी पाएपछि परीक्षामा सामेल भएको हाजिर र मार्कसिटसहित त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा धाए तर, त्रिविले वास्ता नगरेपछि उनले हेलो सरकारमा उजुरी दिए । उजुरीपछि त्रिविले परीक्षाको उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी गर्ने आश्वासन दियो । तर परीक्षा दिएको एक वर्षसम्म पनि यसको अत्तोपत्तो छैन ।

परीक्षा नियन्त्रण कार्यालय बल्खुकै गल्तीका कारण विद्यार्थीले हैरानी मात्रै खेप्नुपरेको छैन, उनीहरूको भविष्य नै अन्योलमा पर्ने अवस्था सिर्जना हुन पुगेको छ । हाजिरीसहित परीक्षा दिँदा पनि नतिजा नआएर परीक्षा नियन्त्रण कार्यालय पुग्ने सयौं विद्यार्थीलाई तपाईको उत्तरपुस्तिका हराएको छ, फेरि परीक्षा दिनुहोस् भन्दै कर्मचारीले पन्छाउने गरेका छन् ।

देशको पुरानो यो विश्वविद्यालयबाट मान्यताप्राप्त देशका विभन्न भू–भागमा सोही अन्तर्गतका क्याम्पस सञ्चालनमा छन् । परीक्षा नियन्त्रण कार्यालय बल्खुका परीक्षा नियन्त्रक पुष्पराज जोशीले उत्तरपुस्तिका हराएको स्वीकार गर्दै खोजी भइरहेको जनाए । उनले भने। ‘उत्तरपुस्तिका खोजी गरिरहेको छौं । अहिलेसम्म फेला परेको छैन, फेला परेपछि सम्पर्क गर्ने छौं ।’

हरेक वर्ष परीक्षाफल प्रकाशित हुँदा परीक्षा दिँदा अनुपस्थित भनेर बल्खुमा गुनासो गर्न आउनेको सङ्ख्या निकै देखिन्छ । कसैको ट्रान्सक्रिप्टमा, कसैको रजिस्ट्रेशन नम्बर फरक, त कसैको नाम नै गलत आउने गर्दछ । परीक्षा नियन्त्रण कार्यालयले गरेका यस्ता गल्तीको विद्यार्थी स्वयंम आफैले पुनः शुल्क तिरेर सच्याउनुपर्ने अवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here