पाकिस्तानमाथि भारतको हमला ! के हो सत्य समाचार ?

232

पाकिस्तानको सीमाभित्र घुसेर बम आक्रमण गरेको समाचार भारतीय सञ्चार माध्यमहरुमा छापिएको छ ।

मंगलबार बिहान भारतीय वायुसेनाको लडाकु विमान कस्मिरको सीमाक्षेत्र पाकिस्तानी भू-भाग बालाकोटमा आतंककारीको अखडामा आक्रमण गरेको दाबी गरिएको छ। १ हजार किलो विस्फोटक पदार्थ खसालिएको र आक्रमणमा परी ३०० भन्दा बढी आतंककारी मारिएको दाबी गर्दै भारतीय सञ्चार माध्यामहरुले खबर दिएका छन्। बम हमलाको घटनालाई भारतीय सञ्चारहरुले सनसनीपूर्ण तरिकाले प्रस्तुत गरिरहेका छन् ।

भारतले कश्मीरको पुलवामा ज्यान गुमाएका सुरक्षाकर्मीको खुनको बदला लिएको भन्दै भारतीय टेलिभजन, अनलाइनहरुले उत्तेजित खबरहरु दिइरहेका छन् । फेब्रुअरी १४ मा ४६ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको आत्मघाती हमलामा पाकिस्तानको संलग्नता रहेको आरोप भारतले लगाउँदै आएको छ।

मोदी सरकारका कृषि तथा किसान कल्याण राज्यमन्त्री गजेन्द्रसिंह शेहवतले ‘यो मोदीको हिन्दुस्तान हो, अरुको घरमा घुस्छ पनि हान्छ पनि भन्दै, उत्साहित हुँदै ट्वीट गरेका छन्।’ भारत सरकारले यसबारे कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन। सुरक्षा परिषदको बैठक बोलाइएको खबर भारतीय सञ्चार माध्यामले दिएका छन् ।

बम आक्रमणको पुष्टि पाकिस्तानले पनि गरेको छ । तर हल्ला गरिए जस्तो कोही हताहती नभएको पाकिस्तानी पक्षको दाबी रहेको छ । पाकिस्तानमा आक्रमण गर्न आएको भारतीय वायु सेनाको लडाकु विमान पाकिस्तानको प्रतिरोधपछि भागेको पाकिस्तानले दाबी गरेको छ । पाकिस्तानी सुरक्षा बलका प्रवक्ता मेजर जेनेरल आसिफ घाफुरले भारतीय सेनाले पाकिस्तानमा छिरेर बम खसालेको पुष्टि गरेका छन् ।

उनले ट्वीटरमा पोस्ट गर्दै पाकिस्तानको मुज्जफरवाद क्षेत्रमा भारतीय लडाकु विमान प्रवेश गरेको र पाकिस्तानी एयरक्राफ्टले तत्काल प्रतिरोध गरेपछि खुल्ला ठाउँमा बम खसालेर भागेको जानकारी दिएका छन्। घाफुरले त्यसबाट कुनै भौतिक संरचना तथा मानवीय क्षति नभएको दाबी गरेका छन। पाकिस्तानी  विदेशमन्त्री शाह मेहमुद क्यूरेशीले एक भिडियो सन्देश दिँदै भारतको यो हर्कत निन्दनीय भएको जनाएका छन्। उनले भारतले ‘लाइन अफ कन्ट्रोल’को उलंघन गरेको भन्दै आत्मरक्षाका लागि यसको उचित जवाफ दिने अधिकार पाकिस्तानसँग सुरक्षित रहेको दाबी गरेका छन्। यसबारे निर्णय गर्नका लागि सुरक्षा परिषद्को बैठक बोलाइएको उनले सन्देशमा भनेका छन् । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here