काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट पत्रकार संगठन क्रान्तिकारी पत्रकार संगठनको नाम परिवर्तनको जानकारी दिएको छ । नयाँ नाम जनपत्रकार संगठन नेपाल राखिएको संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी गराए ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त संगठनले आफूहरुको संगठनले नाम गत पुस ७ र ८ गते बुटवलमा बसेको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठक र मातृ पार्टीको निर्णयानुसार परिवर्तन गरिएको संगठनका अध्यक्ष डुम्रेले जानकारी दिए ।
उनले भने,‘कानुनी र प्राविधिक कारणले गर्दा हामीले संगठनको नाम फेर्नुपरेको हो ।’ पछिल्लो समय सरकारपक्षबाट प्रेसविरोधी ऐन कानुन निर्माणका श्रृङखला बढ्दै गएका बेला संगठनले देशका ४० जिल्लामा मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहस चलाएको अध्यक्ष डुम्रेले जनाए ।
उनले कार्यक्रमलाई निरन्तरता दिने भन्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको बहसलाई थप तिब्र पार्ने जनाए । उनले पछिल्लो समय जनपक्षीय पत्रकारिता चुनौतिपूर्ण बनेको भन्दै आम मिडिया र मिडियाकर्मीलाई आफूहरुको अभियानमा साथ दिनसमेत आग्रह गरे ।
उनले भने,‘सबै पत्रकारहरुले पछिल्लो विकसित राजनीतिक घट्नाक्रमलाई जिम्मेवार र संयममित भएर कलम नचलाए देशमा अप्ठ्यारो परिस्थिति सिर्जना हुन्छ । यो कुरा सबैले बुझ्न जरुरी छ ।’
उनले पछिल्लो समय नेपाली जनपक्षीय पत्रकारिता जटिल र चूनौतिपूर्ण मोडमा आईपुगेको पनि चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाली राजनीतिक आन्दोलनसँगै जनपक्षीय पत्रकारिताको विकास र यसको अगुवाई गर्ने तहमा एकमत नरहँदा यसको विकास र प्रभावकारिमा जटिलता निरन्तर रहिरहे । तर, जनपक्षीय पत्रकारिताको धारणा र दायित्वलाई हाम्रो संगठनले निरन्तर अगाडि बढाईरहेको छ।’
यसअघि क्रान्तिकारी पत्रकार संगठनको नामबाट हुँदै आएका गतिविधि अब जनपत्रकार संगठनको नामबाट हुने महासचिव हिम विष्टले जानकारी दिए ।
सबै जिल्ला र क्षेत्रीय समन्वय समितिलाई अब जनपत्रकार संगठन, नेपालको नामबाट कार्यक्रम गर्न निर्देशन दिएको पनि महासचिव विष्टले जानकारी दिए ।
















