साग खेलकुद समयमै सम्पन्न गर्न सरकार तत्पर

168

काठमाडौं/नेपालमै हुने लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्न सरकार तत्पर रहेको युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिनु भएको छ । नेपाल ओलम्पिक कमिटीले मंगलबार काठमाडौंमा साग खेलकुदको मिति घोषणा सम्बन्धी गरेको कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भइ आएका नयाँ सचिव देवकोटाले समयमै सबै भौतिक संरचना निर्माण भइसक्ने दाबी गरे । उनले भने, ‘भौतिक पूर्वधार र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कारण डिसेम्बरसम्म सरेको हो । तर अब साग खेलकुद सर्दैन तोकिएकै मितिमा प्रतियोगिता सम्पन्न गर्न सरकार प्रतिबद्ध छ ।’ दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले नेपालमा आयोजना हुने भनिएको १३औं सागको नयाँ मिति २०१९ को डिसेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने निर्णय भएको छ । बैठकमा सरकारको तर्फबाट राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र नेपाल ओलम्पिक कमिटीको तर्फबाट अध्यक्ष जीवनराम श्रेष्ठ गएका थिए ।

फेरि पनि प्रतियोगिता सार्नु नपर्ने गरी दक्षिण एसियाली ओलम्पिक काउन्सिलले अन्तिम मिति घोषणा गरेको अध्यक्ष जीवनराम श्रेष्ठले बताए । ‘यो राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हुनाले समयमै हामी प्रतियोगितालाई भब्य र सब्य बनाउँछौं’, अध्यक्ष श्रेष्ठले थपे । त्यस्तै, राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाले साग खेलकुदलाई नै मध्यनजर गर्दै दशरथ रंगशालाको पुननिर्माणका लागि चीनलाई केही दिनअघि नै सुम्पिएको जानकारी दिए ।

सरकार र सम्बन्धित निकायले यो अन्तिम मिति हो अब फेरि प्रतियोगिताको मिति तोकिने छैन भनिरहँदा त्यसको लागि भौतिक संरचना भने कतिको निर्माण हुँदैछ रु यो निकै गम्भीर प्रश्न हो । काठमाडौं र पोखरामा हुने भनिएको साग खेलकुदका लागि अझै पनि पर्याप्त मात्रामा भौतिक संरचना निर्माण भएको छैन । उद्घाटन हुने भनिएको दशरथ रंगशालाको पुननिर्माण सुस्त छ भने पोखरा अन्तर्राष्ट्रिय रंगशाला निर्माण्का कार्य थालिएको पनि छैन । त्यस्तै, विभिन्न कभर्डहल तथा खेलमैदानको पनि निर्माण तत्काल सम्पन्न हुने कुनै छाटकाट छैन । सन् २०१६ मा भारतको गुवाहाटी र सिलोङमा भएको १२औं सागको समापन समारोहबाट १३औं सागको आयोजना गर्ने जिम्मा नेपालले लिएको थियो । नेपालले सन् २०१८ मै १३औं सागको आयोजना गर्नु पर्ने थियो । तर, मुख्य रुपमा भौतिक संरचनाकै कारण यो प्रतियोगिता सरेर सन् २०१९ को मार्च ९ देखि १८ तारिखसम्म आयोजना गर्ने मिति तोकिएको थियो । यो पटक पनि भौतिक संरचना कै कारण साग खेलकुद सर्दै डिसेम्बरमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here