काठमाडौ, अमेरिकी विदेश मन्त्री माईक पम्पियोले प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै नेपालमा तिब्बती शरणार्थीको सुरक्षा र इन्डो प्यासिफिकबारे चासो देखाएका छन् । सरकारको एक वर्ष पुरा भएको अवसरमा दिएको शुभकामना सन्देशमा विदेश मन्त्री पम्पियोले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीको अमेरिका भ्रमणका बेला तिब्बती शरणार्थीको सुरक्षाबारे प्रतिवद्धता जनाएको बताएका छन् ।
तिब्बती शरणार्थीहरुलाई स्वदेश फर्काउँदा उनीहरु असुरक्षित हुने भन्दै पम्पियोले स्वदेश फर्काउन नहुने जनाएका छन् । साथै उनले उत्तर कोरियामा आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले लगाइएको प्रतिबन्धप्रति पनि नेपालको समर्थन रहेको बारेमा ज्ञवालीले नेपाल सरकार प्रतिवद्ध रहेको जनाएका छन् ।
उनले खुला र स्वतन्त्र इन्डोप्यासिफिक क्षेत्रले नेपाललाई सार्वभौम, स्वतन्त्र र समृद्ध हुन सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेका छन् । साथै अमेरिकाले नेपाललाई सहयोग गर्ने भनेको मिलिनियम च्यालेन्ज कर्पाेरेसन कम्प्याक्टलाई कसरी सहमति र सिद्धान्त अनुसार अघी बढाउने भन्ने बारेमा पनि ज्ञवालीसँग छलफल भएको जनाएका छन् । मन्त्री ज्ञवाली पम्पियोको निमिन्त्रणामा गत मंसिरमा अमेरिका भ्रमणमा गएका थिए ।


















