प्रधानमन्त्री ओलीबाट न राष्ट्रिय शोक न राहतको घोषणा नै भयो

81

काठमाडौं / दिनभरि बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा घुमेका प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ काठमाडौं फर्केर ठूलो राहत वा शोकको घोषणा गर्ने अपेक्षा थियो ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले पनि राष्ट्रिय शोक घोषणा गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए । तर आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले न त राष्ट्रिय शोक घोषणा गरेको छ, न त राहतको घोषणा नै ।

प्रदेश सरकारका मृतक परिवारलाई ३ लाख रुपैयाँ र उपचार खर्च व्यहोर्ने निर्णय गरेको अवस्थामा समेत ओली सरकारले राहत घोषणाबारे कुनै निर्णय गरेन । सरकारको निर्णय यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिनमै सीमित भएको छ ।

हावाहुरीबाट २७ जनाको मृत्यु भएको झण्डै २८ घण्टापछि सोमबार साँझ बालुवाटारमा बसेको संघीय सरकारको मन्त्रिपरिषद बैठकले राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । घाइतेहरूको उपचार खर्च व्यहोर्ने, प्रकोपस्थलमा महामारी फैलन नदिने र गृह मन्त्रालयले तथ्यांक संकलन गर्ने निर्णय गरिएको छ । ठूलो जनधनको क्षति हुँदा समेत कुनै खास निर्णय नगर्दा हावाहुरी पीडितले सरकारबाट धोका भएको महसुस गरेका छन् । मुख्यमन्त्री राउतको आग्रह नमानेका कारण प्रदेश सरकारलाई समेत ओली सरकारबाट धोका भएको छ ।

प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहानै झापामा रहेका प्रधानमन्त्रीलाई टेलिफोन गरेर राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका थिए । सोमबार बस्ने केन्द्र सरकारको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने धेरैले आशा गरेका थिए । तत्कालीन राहतका बारेमा पनि केन्द्र सरकारबाट कुनै निर्णय भएन ।

थप राहतबारे क्षतिको विवरण संकलन गरेपछि उचित निर्णय गरिने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाएका छन् । मिडिया डबलीमा खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here