तालिवानद्धारा सशस्त्र सङ्घर्षलाई तीव्र बनाइदै

147

एजेन्सी अफगानिस्तानमा विगत लामो समयदेखि सङ्घर्षरत रहेका तालिबान विद्रोही समूहले संयुक्तराज्य अमेरिकासँग वार्ता प्रक्रियामा रहेपनि सशस्त्र सङ्घर्षलाई अझ तीव्र बनाउने आज शुक्रबार निर्णय गरेका छन् ।
अङ्ग्रेजी समेत पाँच भाषामा प्रकाशित लामो वक्तव्यमा तालिबान विद्रोहीले अफगानिस्तानमा विदेशी फौज रहेसम्म सङ्घर्षलाई निरन्तरता दिइने जनाइएको छ । हुनत, तालिवानले यस्तो घोषणा हरेक वर्ष गरिरहेको छ । हिउँदका कठिन दिनहरुमा पनि तालिबानी आक्रमण रोकिएका छैनन् । तालिवानले दिनहुँजसो अफगान सुरक्षाफौज र अफगानिस्तानमा तैनाथ नेटो फौजमाथि आक्रमण गरिरहेका छन् ।

तालिवानी आक्रमणबाट सुरक्षाकर्मी, लडाकू र सर्वसाधारणको मृत्यु हुनेक्रम घट्नुको साटो पछिल्ला वर्षहरुमा अझ बढेको छ । पछिल्लो समय, तालिबानले बाघ्रामस्थित अमेरिकी हवाई अखाडामा गत सोमबार गरेको आत्मघाती आक्रमणमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो । विभिन्न अध्ययनले अफगानिस्तानको आधाभन्दा बढी भूभागमा तालिबान समूहले कब्जा गरेको देखाएका छन् । मूलतः अफगानिस्तानमा अमेरिकी अतिक्रमणका विरुद्ध विगत १७ वर्षदेखि तालिबान र इस्लामिक स्टेट्स समूहले सशस्त्र सङ्घर्ष गरिरहेको छ ।

आज भएको घोषणामा तालिबानले आफ्ना लडाकूहरुलाई पूर्ण इमान्दारी र तालिवान कमान्ड संरचना बमोजिम आक्रामक कारबाही अघि बढाउन निर्देशन दिएका छन् । घोषणामा नागरिक हताहत रोक्न भरमग्दुर प्रयास गर्न लडाकूहरुलाई निर्देश दिइएको छ ।

यसै वर्षको शुरुमा प्रकाशित राष्ट्रसंघको वार्षिक प्रतिवेदन अनुसार गत वर्ष सन् २०१८ मा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको छ । नागरिकको हत्या हुनुमा मुख्यतः तालिबानी लडाकू र अरु विद्रोहीहरु दोषी देखिएका छन् । अमेरिकी हवाई आक्रमणबाट पनि ठूलो संख्यामा नागरिक हताहत भएको पाइएको छ । अमेरिकी हवाई आक्रमणहरु खासगरी प्रत्यक्ष लडाइँमा संलग्न अफगानी फौजको सहयोगका लागि हुने गरेका छन् ।

तैपनि, कतारमा अर्को सातादेखि अफगानी समूहहरुबीच वार्ता शुरु हुँदैछ । कतारमा तालिबानको कार्यालय समेत रहेको छ । यता काबुलमा, सरकार विरोधी पक्षसँग शान्ति वार्ता गर्न एक वर्ष अघि स्थापना गरिएको अफगान उच्च शान्ति परिषदले तालिबानको पछिल्लो वक्तव्यप्रति निन्दा गरेको छ । अफगान युद्धको शान्तिपूर्ण समाधानमा विद्रोहीहरु इमान्दार रहेकामा यस वक्तव्यले शङ्का उब्जाएको परिषदले जनाएको छ ।

परिषदका उपप्रमुख अट्टा–उ–रहमान सलेमले भने, ‘उनीहरुले युद्ध नै चाहेको देखिन्छ । उनीहरुका हरेक दिनका क्रियाकलापले यसैलाई पुष्टी गरिरहेको छ ।’ अमेरिकी अफगान शान्तिदूत जाल्मे खलिलजादले तालिबानसँग युद्धविराम गर्न र काबुल सरकारसँग वार्ताका लागि आग्रह गरिरहेका छन्, तर विद्रोहीहरुले यी दुबै प्रस्ताव अस्वीकार गरेका छन् ।

तालिवानले अफगान सरकारसँग वार्ता नगर्ने बताउँदै आएको छ । कतारमा वार्ताका लागि आउने अफगान टोलीलाई तालिबानले सरकारी प्रतिनिधि नभई सर्वसाधारण अफगान नागरिक ठान्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here