ललितपुर- भवन अभावका कारण ललितपुर महानगरपालिकामा कर्मचारी व्यवस्थापनमा कठिनाइ आएको छ ।
कर्मचारी आइरहे पनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ ।
महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् । महर्जनले विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका र महानगरपालिकामा पहिले नै झण्डै ३०० कर्मचारी कार्यरत रहेको पनि जानकारी दिए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझै बढेको उनले जानकारी दिएको छ ।
महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर तीन वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ । उनले भने, “अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ ।” महानगरपालिकाका दश वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरु भइसकेको छ ।


















