-निशा तामाङ
चार वर्ष अघि आजकै दिन भूकम्पको धक्काले देशलाई आतंकित बनाएको थियो । यो दिनको सम्झना गर्दा कुन नेपालीलाई डर लाग्दैन होला ! नेपाल र नेपालीको इतिहासकै कालो दिनको रुपमा मानिएको आजको दिन गत २०७२ साल वैशाख १२ गते बिहानको ११ः५६ बजेको विनाशकारी महाभूकम्पको सम्झना हो । हाम्रो मन मस्तिष्कमा अझै ताजा नै रहेको छ त्यो दिन । अझैपनि बेला बेला आइरहने पराकम्पले हामीलाई डर र त्रासको अनुभूति गराइरहन्छ । उक्त भूकम्पमा साढे दश हजारभन्दा बढी मानिसको ज्यान गएको थियो भने हजारौं अपाङ्ग र घाइते भएका थिए । लाखौ मानिस घरबार बिहिन भएर त्रिपालको भरमा रात बिताउन बाध्य भएका थिए । । देशका विभिन्न परम्परागत तथा सांस्कृतिक धरोहरहरु पूर्ण एवम् आंशिक रुपले ध्वस्त भएका थिए । अरबौंको सम्पत्ति ध्वस्त भएका विवरण हाम्रो अगाडि अझै पनि ताजै छ । गोरखाको बार्पाक केन्द्रबिन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्पमा परि हजारौं मानिसहरुले ज्यान गुमाउन पुगेका थिए । भूकम्पले देशका विभिन्न परम्परागत तथा सांस्कृतिक धरोहरहरु पूर्ण एवम् आंशिक रुपले ध्वस्त भएका थिए । गोरखा जिल्लाको बारपाक गाउँ पूर्ण क्षतिग्रस्त भएको थियो भने दोलखा र सिन्धुपाल्चोकसहित अन्य जिल्लाहरु पनि बढी विनाशको चपेटामा परेका थिए ।
नेपाल भूकम्पीय जोखिममा ११औं स्थानमा र काठमाडौँं १ नम्बर खतरामा भएको हामी सबैलाई थाहा नै थियो । तथापि यस विषयमा भविष्यवाणी गरिहाल्न सक्ने अवस्था छैन । तरपनि २०७२ वैशाखको भूकम्प पूर्व सावधानी र सुरक्षाको तयारी केही नगरिएको अवस्थामा नेपालमा ठूलो धनजन र मानवीय क्षति व्यहोर्नु परेको थियो । धेरै संरचनाहरु ध्वस्त भएका थिए । कमजोर भवनहरु भत्किएर नष्ट भएका थिए । निर्माण प्रविधीमा ध्यान नपु¥यइएका घरहरु धेरै मात्रामा ध्वस्त भएका थिए । भूकम्पले भत्काएका संरचनाहरु कतिपय पूर्ननिर्माण भएका छन भने कतिपय अझै पनि बेवास्ता गरिएर छोडिएका छन् । न ती संरचनाको पूनरनिर्माण हुन सकेका छन् न त केही क्षतिपूर्ति नै सरकारले दिएको छ ।
भूकम्पको काखमा बाचिरहेका छौ हामी नेपाली भन्दा पनि हुन्छ । नेपाल भूकम्पको उच्च जोखिममा पर्ने क्षेत्र हो भन्ने कुरा भुगर्भविद्हरुले पहिले देखि भन्दै आइरहेका थिए । नेपालको ईतिहासमा सबैभन्दा ठूलो भूकम्प पि.स १९९० सालमा आएको हो । ८ दशमलव ४ रेक्टर स्केलको सो भूकम्प जाँदा महाभूकम्पमा परी साढे ८ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो । त्यतिबेला गएको विनाशकारी भूकम्पलाई लिएर आजसम्म प्रत्येक वर्ष ‘भूकम्प सुरक्षा दिवस’ मनाउने गरिन्छ । महाभूकम्प गएको करिब आधा शताब्दी पछि वि.स. २०४५ सालमा उदयपुर केन्द्रबिन्दु बनाएर आएको भूकम्पले गर्दा ७ सय २१ जना मानिसले ज्यान गुमाउन पुगेका थिए । ६ हजार ५ सय ५३ मानिसहरु घाईते भएका थिए ।
नेपाल उच्च भूकम्पीय जोखिम क्षेत्रमा पर्ने देश हो भन्ने कुरा जान्दाजान्दै पनि सरकारी सचेतता यसमा नदेखिदा अझै ठूलो क्षतिको सामना नेपाली जनताले गर्नुपर्ने अवस्था आउने निश्चित छ । यसलाई स्विकारेर अगाडी बढ्नु बाहेक हरु कुनै विकल्प समेत छैन । भूकम्पीय जोखिमबाट बच्न न त सरकार क्रियाशील भएर लागी परेको छ न त जनताले सावधानी अपनाएको नै पाइन्छ । भूकम्पीय क्षतिपछिको पुनर्निर्माण कार्यलाई हेर्ने हो भने हालसम्म सन्तोषजनक स्थिति देखिएको छैन । थुप्रै भूकम्प पीडितहरूका गुनासाहरू र पुनर्निर्माणका लागि सम्झौता पनि भएका छन् । हालसम्म पनि दोस्रो किस्ता नपाएका पीडितहरू टहरामा रात काट्न बाध्य छन् । वि.सं. १९९० मा भूकम्पपछि तत्कालीन श्री ३ जुद्धशमशेरले विदेशी राष्ट्रको सहयोग नलिइकन आफ्नै आन्तरिक स्रोत साधनको परिचालन गरेर तीन महिनाभित्र भूकम्प पीडितको व्यवस्थापन गरेका थिए । तर आजको वैज्ञानिक युगमा आइपुगेको अवस्थामा पनि नेपालको सरकार भूकम्प गएको चार वर्षसम्म पनि व्यवस्थापन गर्न तथा पुर्ननिर्माणका कार्यलाई गति दिन सकेको छैन ।आउने दिनहरुमा भूकम्पको सामना गर्न हरपल तयार हुन सबै सजग हुन जरुरी छ । भूकम्प प्रतिरोधात्मक संरचनाहरु निर्माणमा जोड दिनु आवश्यक छ । जसको भविष्यमा यस्ता भूकम्पीय जोखिमहरुमा देशले मानवीय क्षति र भौतिक विनाशकारीको डरलाग्दोे अवस्था बेहोर्नु नपरोस् । सरकारले भूकम्पबाट भत्किएका संरचनाहरुको पूर्ननिर्माण संगसंगै भूकम्पीय जोखिमलाई न्यूनिकरण गर्नतर्फ पनि सचेतता देखाउन जरुरी छ ।- जनधारणा साप्ताहिक


















