चिसोका कारण मधेशको जनजीवन प्रभावित

23

रौतहट । लगातार तीन हप्तादेखिको चिसोका कारण रौतहट सहित मधेशको जनजीवन प्रभावित बनेको छ । विगत एक सातादेखि परेको तुषारोका कारण रौतहटको जनजीवन झन प्रभावित बन्दै गएको हो । पानी परेजस्तै परेको तुषारोका कारण ग्रामीण जनजीवन कष्टकर बनेको हो । अत्याधिक चिसोका कारण सर्वसाधारणहरू घरबाट बाहिर निस्कन सक्ने अवस्था रहेको छैन ।

चिसोका कारण बजारमा चहलपहल समेत घटेको व्यापारीहरूले जनाएको छ । एक सातादेखि परेको तुषारोका कारण सर्वसाधारणहरूको चहलपहल बजारमा घट्दै जान थालेको व्यापारीहरूको भनाइ रहेको छ । जाडोका कारण रौतहटका सरकारी कार्यालयहरूमा आउने सेवाग्राहीको संख्या समेत घट्दै जान थालेको छ । पहिलेको तुलनामा जाडोका कारण सेवा लिन आउने सेवाग्राहीको संख्यामा कमी आएको रौतहट जिल्ला भूमिसुधार कार्यालयका कार्यालय प्रमुख उदयप्रसाद देवकोटाको भनाइ रहेको छ ।

एक हप्तादेखिको तुसारोका कारण किसानहरूले लगाएको नगदे बाली मुसुरो तोरीमा नराम्रो क्षति पुगेको किसानहरूको भनाइ रहेको छ । जाडो बढेसँगै जाडोबाट हुने विभिन्न रोगका बिरामीहरूको सङ्ख्या समेत सरकारी अस्पतालमा बढ्दै जान थालेको छ । जाडो बढेपछि बुढाबुढीमा निमोनिया जस्ता रोगहरू देखा पर्न थालेको चन्द्रनिगापुरस्थित सरकारी अस्पतालका डाक्टर रामजी रामले जनाए ।

जाडो बढेसँगै जाडोबाट लाग्ने विभिन्न रोगका रोगीहरूको अस्पतालमा भिड लाग्न थालेको डाक्टर रामले जानकारी दिए । विगत एक सातादेखिको तुषारोका कारण दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका सर्वसाधारणको दैनिकी समेत प्रभावित हुँदै जान थालेको छ । जाडोले काम गर्ने अवस्था नभएका कारण आफूहरू घरमै बस्न बाध्य भएकाले बिहान बेलुकाको छाक टार्न समस्या भएको कटहरियाका हरिकृष्ण रामले गुनासो गरे ।

विगत तीन सातादेखिको हुस्सु शीतलहर र तुसारोका कारण पूर्व पश्चिम राजमार्गमा गुड्ने सवारी साधनहरूले दिउँसै लाइट बालेर हिँड्नुपर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक सुशील आचार्यले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here