नेपाल एसियामै पहिलो बन्यो माटोको डिजिटल नक्सा तयार गर्नेमा

277

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माटोको
डिजिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुआत गरेको जनाए । ‘माटोमा कुन पोषक तत्त्व छ, कुन छैन वा बढी छ। रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँगै थाहा पाउन सक्षम भए’, उनले भने।

किसानले आफूसँग कम्प्युटर नभए मोबाइल एप्स र त्यो पनि नभए हेर्न जान्नेसँग सम्पर्क गरेर आफू उभिएको जमिनको माटोको गुणस्तर जाँच्न सक्ने पनि प्रधानमन्त्रीले ओलीले जानकारी दिए। जनतालाई देशमै उत्पादित वस्तुको उपभोगतर्फ आकर्षित गर्नुपर्नेमा उनको जोड थियो। मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एसियाकै पहिलो मुलुक बनेको छ। दक्षिण एसियाका अन्य देशमा पनि यो प्रविधिको माटोको नक्सा केही जिल्ला र प्रदेशस्तरमा मात्रै सिमित छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेरबदल नआउने जनाए । देशमा पर्याप्त उत्पादन भए पनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनुपर्ने उनको सुझाव थियो। ‘हामीसँग प्रशस्त खाद्य बाली छ। तर, हामीलाई लामा सीता भएको पातलो चामल चाहिन्छ। खाने होइन, ज्युनार गरेजस्तो लाग्ने, भात होइन भुजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भने।

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भए पनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उनले प्रतिशतको तुलना नमिलेको बताए। यसलाई सन्तुलनमा ल्याउन उत्पादकत्वमा व्यापक वृद्धि गर्नुपर्ने उनले बताए। कृषिमा दिइने अनुदानलाई दुरुपयोग नहुने गरी परिवर्तन गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब कृषिमा युवालाई आकर्षित गर्नुपर्ने जानकारी दिए। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्त्वपूर्ण फड्को भएको जानकारी दिइन्। माटोको विद्युतीय नक्सांकनमार्फत किसानले आफ्नो जग्गाको माटोमा कुन तत्त्व पुग्दैन, त्यसलाई कसरी पूर्ति गर्न सकिन्छ ? कुन बालीको उत्पादन राम्रो हुन्छ ? कति मल प्रयोग गर्ने जस्ता जानकारी सहजै लिन सकिने मन्त्री अर्यालले जनाइन् ।

देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमुना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकले सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रासायनिक पक्षबारे विस्तृत जानकारी पाउन सक्छन्। नक्सांकन कार्यले किसान मात्र नभई नीति निर्माता, अनुसन्धानकर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघसंस्था, मल आयातकर्तालाई समेत माटोसम्बन्धी पूर्ण जानकारी दिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here