तम्घास / गुल्मीको मुसिकोट नगरपालिका–४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानी पिउँदा ९८ बिरामी भएको छ । बिरामीमध्ये तीनको गुल्मी अस्पताल तम्घास, एकको पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास र अन्य ६ जनाको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी शिविरमा उपचार भइरहेको जिल्ला जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले उल्लेख गर्नु भयो ।
बिरामी मध्ये स्थानीय कुमारी सिंजालीको अवस्था गम्भीर रहेको छ। उक्त ठाउँमा अचानक मङ्गलबार केही मानिस सामान्य रुपमा बिरामी परेको र त्यसपछि बिस्तारै धेरै मानिस बिरामी पर्दै जान थालेपछि नगरपालिकाले बिहीबार जिल्ला जनस्वास्थ्यको टोलीलाई खबर गरेको थियो। सोपश्चात् जिल्ला जनस्वास्थ्यको टोली उक्त क्षेत्रमा पुगेर शिविर सञ्चालन गरी बिरामीको उपचार गरेको थियो ।
दूषित पानी सेवन गरेका कारण बिरामी परेका अधिकांश मानिसमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको शिविरमा संलग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत महेश श्रेष्ठले जानकारी दिए । दूषित पानीका कारण मानिस बिरामी परेपछि मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले उक्त पानी कसरी दूषित भयो भन्नेबारेमा पानीको परीक्षण गरिने भएको छ ।
उक्त ठाउँमा फैलिएको झाडापखाला अहिले नियन्त्रणमा आएको र सामान्य भएको छ । जिल्लाबाट गएको स्वास्थ्यकर्मीको टोलीले स्थिति सामान्य बन्दै गएको भन्दै बिरामी थप उपचार गरेर सदरमुकाम तम्घास फर्किएको बताएका छन् । उक्त ठाउँमा अहिले स्थानीयस्तरमा रहेका ६ स्वास्थ्यकर्मी अस्थायी शिविरमा रहेका बिरामीको रेखदेखमा खटिएका छन् । खानेपानीको समस्या भएको उक्त ठाउँमा नुरखोलाबाट बगेको दूषित पानी स्थानीयवासीले उपभोग गर्न बाध्य बनेको स्थानीय हरि छन्तेलले गुनासो गरे ।


















