फेरि महिलालाई आगो लगाइयो

200

काठमाडौं / सिराहाको कल्याणपुर नगरपालिकाकी २१ वर्षीया कञ्चन मण्डललाई आफ्नै पतिले आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन्। उनका पति चेतन मण्डल अहिले फरार रहेको प्रहरीले जनाएको छ। आज बिहीबार भान्छामा काम गरिरहेकी कञ्चनलाई आगो लगाएर फरार भएको अनुमान प्रहरीले गरेको छ।

उनलाई आगो लगाएर मार्ने कोशिश गरेको भन्दै प्रहरीले सासू सुर्जी खत्वेलाई पक्राउ गरेको छ। कञ्चनलाई भने उपचारका लागि पहिले विपी कोइराला मेमोरियल अस्पताल धरान र त्यसपछि काठमाडौंको कीर्तिपुर अस्पताल लगिएको छ।

उनको पूरा शरीरको लगभग पहिलो पत्रको छाला जलेको मिर्चैया इलाका प्रहरी कार्यालयका डिएसपी शुकदेव खनालले जानकारी दिए ।

भान्छामा काम गरिरहेका बेला शरीरमा पछाडिबाट आगो लगाइदिएको बयान कञ्चनले प्रहरीलाई दिएकी छन्।

‘म भान्छामा काम गरिरहेकी थिएँ। आगो लागेपछि थाहा भयो। मलाई मेरो पति र सासूले यस्तो अप्ठ्यारोमा पारे, कञ्चनलाई उद्धृत गर्दै डिएसपी शुकदेव खनाल जानकारी दिए ।

कञ्चनलाई जलाएको थाहापाए लगतै छिमेकीले प्रहरी बोलाएर प्रहरी र गाउँले मिलेर उद्धार गरेको खनाल बताए । कञ्चनकी डेढ वर्षीया छोरी छन्।

सासूलाई पक्राउ गरे पनि अहिलेसम्म उनले केही कुरा नखोलेको प्रहरीले जनाएको छ।
‘कञ्चनकी सासूसँग हामीले बयान लिएका छौं तर उनी केही बोल्दिनन्। त्यसैले मौकामा पीडितसँगै लिएको बयानका आधारमा हामीले अनुसन्धान अघि बढाएका छौं,’ डिएसपी खनालले भने, ‘उनका पतिलाई पनि हामीले खोजी गरिरहेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here