‘दाल भात तरकारी—२’ चलचित्र निमार्ण हुनसक्छ : हरिवंश

168

काठमाडौं / प्रतिष्ठित ब्यानर महसञ्चारले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’ ले बक्सअफिसमा ठूलो उछाल ल्याउने प्रर्दशनपूर्व धेरैको अनुमान गरेको थियो । ब्रान्ड भ्यालु र राम्रो हाइप भएका कारण दर्शकमा चलचित्रप्रति अपेक्षा पनि उच्च थियो ।  चलचित्रले दर्शकलाई सन्तुष्ट बनाउन नराम्रोसँग चुकेको छ । चलचित्र हेरे पश्चात दर्शकले खासै राम्रो प्रतिक्रिया दिएका छैनन् । राम्रोभन्दा चलचित्र कमजोर रहेको बताउने दर्शकको संख्या ठूलोमा रह्यो ।

चलचित्रलाई समीक्षकले पनि पिटिक्कै रुचाएका छैनन् । ‘वर्ड अफ माउथ’ कमजोर हुँदाको असर आइतबारबाट फिल्मको बक्सअफिसमा पर्न थालेको छ । अपेक्षाकृत ओपनिङ गर्न चुकेको फिल्मको कलेक्सन ग्राफ हरेक दिन ओरालोलाग्दो छ । तर, निर्माण टिमले दर्शकले चलचित्र निकै रुचाएको र व्यापार पनि राम्रो गरिरहेको दाबी गरिरहेको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसीको दाबीलाई आँखा चिम्लिएर विश्वास गर्ने हो भने ‘दाल भात तरकारी’ ले हरेक दिन बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ । र, दर्शकहरु झुण्डको झुण्ड हल पुगिरहेका छन् । शनिवार चलचित्रले ‘शत्रु गते’ को कमाईलाई समेत उछिनेको भन्दै उनी आत्मरतीमा रमाइरहेका छन् । तर, बक्सअफिसमा चलचित्रको हालत दिन प्रतिदिन खराब हुँदै गएको छ । मल्टीप्लेक्सहरुले सोज घटाइरहेका छन् ।

चलचित्रलाई लिएर भएको नकारात्मक टिप्पणीलाई बरिष्ठ हास्यकलाकार हरिवंश आचार्य भने सकारात्मक रुपमा लिन्छन् । चलचित्रमा नाटकको शैली प्रयोग गरेको बताउँदै उनले सुरुमा दर्शकलाई कन्भिन्स गराउन गाह्रो भएको धारण राखे । उनका अनुसार, ‘चलचित्र प्रर्दशनी भएपछि ‘लाउड’ को कुरा धेरै सुन्नु परेको थियो । अब भने दर्शक कन्भिन्स हुँदै जानुभएको छ । चलचित्रमा रंगमञ्चको गन्ध छ । एउटै कोठामा लामा—लामा दृश्यहरु रहेका छन् ।’

चलचित्र हेरेका दर्शकहरु दिल खोलेर हाँस्नुले नाटकको शैली अपनाएर आफूहरुले गलत नगरेको उनको भनाई छ । हरिवंश आगाडि भन्छन्, ‘एउटा नौलो प्रयोग हामीले गरेका हौं । त्यो प्रयोगलाई सुरुमा हामीले बुझाउन सकेनौं । यो हाम्रो कमजोरी हो । त्यो पहिला नै बुझाउन सकेको भए नकारात्मक टिप्पणीहरु आउँदैन थिए । अहिले दर्शकहरुले राम्रोसँग बुझ्दै गएका छन् । सुरुमा जति नकारात्मक थियो अहिले विस्तारै सकारात्मक भएको छ ।’

उनले ‘दाल भात तरकारी’ को सिक्वेल बन्नसक्ने पनि संकेत गरे । उनले भने ‘यो फिल्म लेख्दा—लेख्दै सिक्वेलको पनि कन्सेप्ट तयार भइसकेको थियो । अब सिक्वेल बनाउने वा नबनाउने भन्ने कुरा हामी साथी—भाईहरुसँग सल्लाह गर्नेछौं । महसञ्चारले निर्णय गर्छ ।’ ‘महका म’ मदनकृष्ण श्रेष्ठले आफूले सोचेकोभन्दा ठूलो भीड हलमा देखेकोमा खुसी व्यक्त गरे । अभिनेता पुष्प खड्का र अभिनेत्री आँचल शर्मा पनि दर्शक प्रतिक्रियाबाट खुसी धारणा राख्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here